दशौँ राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश, २८ खेल कर्णालीमा हुने



सुर्खेत, असोज १९। आगामी मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ मा ३२ खेल समावेश गरिएका छन्। राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा प्रतियोगिता सञ्चालन हुनेछ।

आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले ३२ मध्ये २८ खेल कर्णाली प्रदेशमा र चार खेल लुम्बिनी प्रदेशमा सञ्चालन गर्ने प्रारम्भिक तयारी गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार एथ्लेटिक्स, ब्याडमिन्टन, बक्सिङ, बास्केटबल, क्रिकेट, फुटबल, ह्यान्डबल, रग्बी, तेक्वान्दो, भलिबल, उसु, कुस्ती, कबड्डी, कराते, फूल कन्ट्याक्ट कराते, हक्की, ई–स्पोर्ट्स, स्क्वास, साइक्लिङ, जिम्न्यास्टिक र सेपाकताक्रो गरी २१ खेल सुर्खेतमा सञ्चालन हुनेछन्।

त्यस्तै, शारीरिक सुगठन कालीकोट, जुडो जाजरकोट, खो–खो रुकुमपश्चिम, आइटिएफ तेक्वान्दो तथा बुद्धिचाल दैलेख, टेबलटेनिस सल्यान र आर्चरी जुम्लामा सञ्चालन गरिनेछ।

सदस्यसचिव मेहताका अनुसार पौडी, भारोत्तोलन, टेनिस र सुटिङ लुम्बिनी प्रदेशको नेपालगञ्जमा सञ्चालन गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ। प्राविधिक समितिको थप छलफलपछि ती खेल पनि कर्णालीमै सञ्चालन हुन सक्ने उहाँले बताउनुभयो।

प्रतियोगिताका लागि सङ्घीय सरकारले ७१ करोड रुपैयाँ तथा राष्ट्रिय पारा खेलका लागि तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रतियोगितामा खेलाडी र अफिसियल गरी करिब नौ हजारको सहभागिता रहने आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन्द्र चन्दले रङ्गशालाको काम शतप्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो। उहाँले आवास व्यवस्थापनलाई चुनौतीका रूपमा लिइएको भन्दै त्यसको समाधानका लागि तयारी थालिएको बताउनुभयो।

आवास व्यवस्थापनका लागि परिषद्का उपाध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिले आवाससम्बन्धी समस्या पहिचान गर्ने र प्रदेश सरकारले आवश्यक समाधान गर्ने सदस्यसचिव चन्दले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्