कोरियन मेडिकल एशोसिएसनद्वारा नुवाकोटका बाढीपीडितलाई राहत



नुवाकोट, असोज १९ । कोरियाली चिकित्सकहरूको संस्था कोरियन मेडिकल एशोसिएसनले नुवाकोटका बाढीपीडित परिवारका लागि राहत सामग्री प्रदान गरेको छ।

संस्थाले विदुर नगरपालिका–१ का २२० बाढी प्रभावित परिवारका लागि जाडोमा प्रयोग हुने कम्बललगायत लत्ताकपडा उपलब्ध गराएको हो। कोरियाली चिकित्सकहरूको टोली आइतबार प्रभावित क्षेत्रमै पुगेर ती सामग्री वितरण गरेको थियो।

नजिकिँदो जाडोलाई लक्षित गरी प्रभावित परिवारलाई केही आवश्यक सामग्री सहयोग गर्न पाएकोमा आफूहरू खुसी रहेको कोरियाली टोलीका नेता डा. चोइ जेङ सेवले बताउनुभयो।

चिकित्सकहरूको टोलीले बाढीपछि प्रभावित क्षेत्रमा देखिएको स्वास्थ्य अवस्थाबारे समेत जानकारी लिएको नेपाल–कोरिया मानवीय सहायता समन्वयकर्ता रुद्र शर्माले जानकारी दिनुभयो।

नेपालका लागि कोरियाली अवैतनिक वाणिज्यदूत डा. जिअनले अहिले बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न टोली आएको र आगामी दिनमा पुनःस्थापनाका क्रममा आवश्यक संरचना निर्माणमा समेत सहयोग गर्ने बताउनुभयो।

विदुर नगरपालिकासँग समन्वय गरी वडा कार्यालयमार्फत करिब २० लाख रुपैयाँ बराबरको कोरियाली सहायता वितरण गरिएको स्थानीय नारायण प्याकुरेलले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्