लिग–२ का लागि नेपाली क्रिकेट टोलीको बिदाइ, एकदिवसीय मान्यता जोगाउन महत्वपूर्ण
काठमाडौं,असोज १९ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय श्रृङ्खला खेल्न जाने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको आइतबार बिदाइ गरिएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको बिदाइ कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत पदाधिकारीले नेपाली टोलीलाई बिदाइ गरेका हुन्।
बिदाइ समारोहमा क्यानका अध्यक्ष चन्दले नेपाली खेलाडीहरू पछिल्लो समय उच्च लयमा रहेकाले लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले टोलीलाई सफलताको शुभकामना दिँदै खेलाडीलाई बधाईसमेत दिनुभयो।
लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमान र क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। नेपालले असोज २५ गते क्यानडासँग, असोज २७ गते ओमानसँग, असोज ३१ गते पुनः क्यानडासँग र कात्तिक २ गते ओमानसँग खेल्ने तालिका छ।
एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्न नेपालका लागि यो श्रृङ्खला महत्वपूर्ण मानिएको छ। त्यसैले आगामी खेलमा प्राप्त हुने नतिजाले नेपालको लिग–२ यात्रा र एकदिवसीय मान्यता कायम राख्ने अभियानमा महत्वपूर्ण भूमिका खेल्नेछ।

