नुवाकोट–२ को क्षेत्रीय सभापतिमा सिंहराज लामा विजयी, सचिवमा लामिछाने



नुवाकोट,असोज १९ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नुवाकोट क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा सिंहराज लामा विजयी भएका छन्। उनले प्रतिस्पर्धी आशा तामाङलाई २१८ मतको अन्तरले पराजित गरेका हुन्।

निर्वाचन समितिका अनुसार लामाले ६८२ मत प्राप्त गर्दा तामाङले ४६४ मत प्राप्त गरिन्। लामाले तामाङलाई स्पष्ट मतान्तरसहित पराजित गर्दै क्षेत्रीय सभापतिको जिम्मेवारी हात पारेका हुन्।

लामा केन्द्रीय सहमहामन्त्री बहादुरसिंह लामा निकट मानिन्छन् भने तामाङ केन्द्रीय सदस्य अर्जुननरसिंह केसी निकट समूहबाट उम्मेदवार बनेकी थिइन्। क्षेत्र नं. २ मा संस्थापन पक्षभित्रै केसी र लामा समूहले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए।

त्यस्तै, क्षेत्रीय सचिवमा पनि लामा प्यानलका विवेक लामिछाने विजयी भएका छन्। उनले कृष्णबहादुर अधिकारीलाई २१० मतको अन्तरले पराजित गरे। लामिछानेले ६६९ मत प्राप्त गर्दा अधिकारीले ४५९ मत पाए।

क्षेत्रीय कार्यसमितिका अन्य पदमा समेत सिंहराज लामा प्यानलका उम्मेदवारहरू विजयी भएको जनाइएको छ। निर्वाचन परिणामसँगै नुवाकोट क्षेत्र नं. २ को क्षेत्रीय नेतृत्वमा लामा समूहको पकड बलियो बनेको छ।

प्रतिक्रिया दिनुहोस्