नुवाकोट क्षेत्र नं. २ बाट लामा, केसीसहित १० जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित
नुवाकोट,असोज १९ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नं. २ बाट बहादुरसिंह लामा, अर्जुननरसिंह केसी र जगदीश्वरनरसिंह केसीसहित १० जना खुला महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
अन्तिम मतपरिणामअनुसार सहमहामन्त्री बहादुरसिंह लामा सबैभन्दा धेरै ९८६ मत प्राप्त गर्दै विजयी भएका छन्। जगत तामाङले ७८३, अर्जुननरसिंह केसीले ७३६ र जगदीश्वर केसीले ६९३ मत प्राप्त गरेका छन्।
त्यस्तै उपेन्द्र बुढाथोकी ६१९, फाइसिङ तामाङ ५८७, चोकराज शाक्य ५८६, सुरेन्द्र अधिकारी ५७८, छत्र लामा ५७६ र सभापति गगन थापाका स्वकीय सचिव सविनराज मुडभरी ५६६ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
क्षेत्र नं. २ को निर्वाचनका क्रममा मतपत्रमा रहेको मतदान अधिकृतको हस्ताक्षरलाई लिएर विवादसमेत भएको थियो। केही मतपत्रमा हस्ताक्षर फरक देखिएको भन्दै प्रश्न उठेपछि मतगणना प्रक्रिया प्रभावित भएको थियो। विवादकै बीच निर्वाचन समितिलाई मतगणना रोक्न निर्देशनसहितको पत्र आएको विषयसमेत सार्वजनिक भएको थियो।
तर त्यसपछि मतगणना अघि बढाएर परिणाम सार्वजनिक गरिएको छ। मतपत्रको हस्ताक्षरसम्बन्धी विषयमा सम्बन्धित पक्षबाट फरक–फरक दाबी सार्वजनिक भए पनि यसको आधिकारिक टुंगो निर्वाचन समितिको निर्णय तथा अभिलेखबाट स्पष्ट हुने देखिन्छ।
क्षेत्र नं. २ को परिणामसँगै नुवाकोट कांग्रेसभित्र अर्जुननरसिंह केसी र बहादुरसिंह लामा पक्षबीचको प्रतिस्पर्धा पनि सतहमा आएको छ। संस्थापन पक्षभित्रै देखिएको समूहगत प्रतिस्पर्धाले आगामी महाधिवेशनमा नुवाकोट कांग्रेसको शक्ति–सन्तुलनमा प्रभाव पार्ने कांग्रेस वृत्तमा चर्चा छ।
क्षेत्र नं. १ मा भने केसी र रमेशकुमार महत पक्षबीचको समीकरण चर्चामा रहेको छ। डा. प्रकाशशरण महत इतर समूहमा देखिएपछि केसी पक्षलाई क्षेत्र नं. १ मा सहज भएको चर्चा भए पनि केसी निकट मानिएका जगदीश कुँइकेलको विद्रोही उम्मेदवारीले केही स्थानमा समीकरण प्रभावित गरेको बताइएको छ।
क्षेत्र नं. २ बाट बहादुरसिंह लामा, अर्जुननरसिंह केसी र जगदीश्वरनरसिंह केसी एकैपटक महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुलाई आगामी महाधिवेशनमा नुवाकोट कांग्रेसभित्रको शक्ति–सन्तुलनका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।

