विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको प्रधानमन्त्री शाहको भनाइ



काठमाडौं,असोज १९। प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीचको आपसी समन्वयमा भदौ १० गतेयता विपद् व्यवस्थापनको काम निरन्तर भइरहेको बताउनुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले सरकारले कुनै सम्झौता नगरी विपद् व्यवस्थापनमा निरन्तर काम गरिरहेको बताउनुभयो।

बैठकमा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको समेत सहभागिता थियो। मुख्यमन्त्रीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गरी विपद् व्यवस्थापनको काम चाँडोभन्दा चाँडो सम्पन्न गरिने बताउनुभयो।

उहाँले भोटेकोशी–त्रिशूली, गण्डकीलगायत विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिको अध्ययन गरी त्यसको व्यवस्थापनमा सरकार जुटिरहेको जानकारी दिनुभयो।

प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउने तयारी भइरहेको बताउँदै हिमपहिरोको जोखिम न्यूनीकरणका लागि पनि आवश्यक काम भइरहेको उल्लेख गर्नुभयो।

उहाँले विपद् व्यवस्थापनका क्रममा आफ्नो ज्यान जोखिममा राखेर निरन्तर खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक तथा राजनीतिक दलका प्रतिनिधिलगायत सबैप्रति कृतज्ञता व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्