भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र बनाउने निर्णय



काठमाडौं,असोज १९ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक खोजी कार्यसँगै पुनर्निर्माण र पुनर्स्थापनाको काम तीव्र रूपमा अघि बढाउने निर्णय गरेको छ।

बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय तथा निकायबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम परिषद्बाट स्वीकृत योजनाका लागि अर्थ मन्त्रालयमार्फत स्रोत व्यवस्थापन गरिनेछ। लागत अनुमान नखुलेका तथा प्राथमिकीकरण हुन बाँकी आयोजनाको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई बैठकले निर्देशन दिएको छ।

बैठकमा प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनको काम संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा भइरहेको र अब पुनर्निर्माण तथा पुनर्स्थापनाको काम पनि सोही समन्वयमा अघि बढाइने बताउनुभयो।

बैठकमा विपक्षी दलका साथै नेपाली कांग्रेसका संसदीय दलका नेता तथा बागमती, गण्डकी, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले पुनर्निर्माण तथा पुनर्स्थापनाको कार्यमा पूर्ण साथ रहने प्रतिबद्धता जनाउनुभएको थियो।

यसअघि असोज १४ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३७औँ बैठकले अत्यावश्यक स्थानमा खोजी कार्य जारी राख्दै हालका लागि खोज तथा उद्धारबाट खोज तथा पुनःप्राप्ति कार्यतर्फ अघि बढ्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्