५ हजार ७३७ परिवारलाई लालपुर्जा वितरण, एक हजार दिनभित्र भूमिहीन समस्या समाधान गर्ने सरकारको लक्ष्य
काठमाडौं,असोज १९ । प्रधानमन्त्री बालेन्द्र शाहले भूमिहीन तथा सुकुम्बासी समस्या समाधानलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ। उहाँले हालसम्म देशभर ५ हजार ७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण भइसकेको जानकारी दिनुभएको हो।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत दशकौँदेखि समाधान हुन नसकेको भूमिहीनको समस्या अब परिणाममुखी ढंगले समाधान गर्ने गरी सरकारले काम अघि बढाएको बताउनुभएको छ। उहाँका अनुसार भूमि समस्या समाधान समितिमा हालसम्म १३ लाख ११ हजार १९७ निवेदन प्रणालीमा प्रविष्ट भएका छन्। ती निवेदनको अध्ययन तथा प्रमाणीकरणको काम अघि बढिरहेको उहाँले उल्लेख गर्नुभएको छ।
सरकारले विगतका आयोग तथा संरचनाभन्दा फरक ढंगले विषयविज्ञता, स्थानीय तहसँगको समन्वय र स्पष्ट जिम्मेवारीका आधारमा काम अघि बढाएको प्रधानमन्त्री शाहको भनाइ छ। उहाँले विगतमा भूमि समस्या समाधानका नाममा बनेका संरचनामा राज्यको ठूलो स्रोत खर्च भए पनि अपेक्षित परिणाम आउन नसकेको उल्लेख गर्नुभएको छ।
सरकारले सार्वजनिक महत्वका क्षेत्र तथा जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने प्रक्रिया पनि अघि बढाएको जनाएको छ। काठमाडौं उपत्यकाबाट विस्थापित परिवारलाई उनीहरूको स्थायी वतन भएको जिल्लामै भूमि व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको प्रधानमन्त्री शाहले बताउनुभएको छ।
त्यस्तै, झुटो विवरण दिएर आफूलाई भूमिहीन देखाउनेहरूको अभिलेख भिडान गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको उहाँले जानकारी दिनुभएको छ। भूमि सम्बन्धी ऐन, वन ऐनलगायत सम्बन्धित कानुनमा आवश्यक सुधार गरी समस्या समाधानमा देखिएका कानुनी, प्रक्रियागत तथा संरचनागत अवरोध हटाउने सरकारको तयारी छ।
प्रधानमन्त्री शाहले निर्वाचनमा गरिएको प्रतिबद्धताअनुसार एक हजार दिनभित्र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने लक्ष्य सरकारले कार्यसम्पादन सूचकका रूपमा अघि बढाएको बताउनुभएको छ। उहाँका अनुसार जिल्लागत रूपमा समस्या समाधान गर्दै क्रमशः सुकुम्बासी समस्यामुक्त जिल्ला घोषणा गर्ने दिशामा सरकार अघि बढिरहेको छ।

