बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते



दाङ,असोज २० । दाङको देउखुरीमा यात्रुवाहक बस र अटो एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

सोमबार लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ह १५७१ नम्बरको अटो र भालुवाङबाट लमहीतर्फ आउँदै गरेको लु २ ख ०१११ नम्बरको बस लमही नगरपालिका–३ मजगाउँमा ठोक्किएका हुन्।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार दुर्घटनामा प्युठानको सरुमारानी गाउँपालिका–५ हातिखालकी ४५ वर्षीया नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमैमगरको मृत्यु भएको हो।

प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको ट्रकलाई उछिनेर अगाडि बढ्ने क्रममा अटो विपरीत दिशाबाट तीव्र गतिमा लमहीतर्फ आउँदै गरेको बससँग ठोक्किएको थियो।

दुर्घटनामा अटो चालक सरुमारानी गाउँपालिका–५ पाखापानीका जीतबहादुर पल्लीमगर, सोही ठाउँकी सङ्गिता सोमैमगर र नौबहिनी गाउँपालिका–८ लुप्लुङका २८ वर्षीय गोपाल अधिकारी घाइते भएका छन्। उनीहरूको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्