मर्मतसम्भारका लागि मनकामना केबलकार आज बन्द
चितवन,असोज २० । चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिरसम्म सञ्चालन हुँदै आएको मनकामना केबलकार आज एक दिन बन्द हुने भएको छ।
चाडपर्वअघि नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले केबलकार सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो। उहाँका अनुसार केबलकारका टावर तथा दुवै स्टेसनको मर्मतसम्भार र निरीक्षणका लागि सेवा बन्द गर्न लागिएको हो।
केबलकार बन्द रहेको समयमा टावरको मर्मत तथा निरीक्षण गर्नुका साथै दुवै स्टेसनको अवस्थाबारे जाँच गरिनेछ। सेवा बन्द रहनेबारे सामाजिक सञ्जालमार्फत समेत जानकारी गराइएको कम्पनीले जनाएको छ।
मनकामना दर्शन प्रालिले सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति क्षमा मागेको छ। केबलकार सेवा बुधबारदेखि नियमित सञ्चालनमा आउनेछ।

