नुवाकोट ककनीमा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी अभिमुखीकरण



नुवाकोट,असोज २० । नुवाकोटको ककनी गाउँपालिकामा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले एकदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ।

गाउँपालिकाको प्रधानमन्त्री रोजगार शाखाको आयोजनामा जनप्रतिनिधि तथा कर्मचारीका लागि आयोजित कार्यक्रममा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका बागमती प्रदेश व्यवस्थापक पुरुषोत्तम अधिकारीले कार्यक्रमको पृष्ठभूमि, उद्देश्य र प्रभावकारिताबारे जानकारी गराउनुभयो। उहाँले वैदेशिक रोजगारीमा जाने नागरिकलाई सही सूचना र आवश्यक सीप प्रदान गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो।

सामी कार्यक्रमका बागमती प्रदेश अधिकृत भोजराज सुनारले वैदेशिक रोजगारीका क्रममा देखिने समस्या, कानुनी समाधानका उपाय तथा राहत र उद्धार प्रक्रियाबारे सहजीकरण गर्नुभयो।

कार्यक्रम समापन गर्दै ककनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र पौडेलले पालिकामा सुरक्षित वैदेशिक रोजगारीको वर्तमान अवस्थाबारे जानकारी गराउँदै सुरक्षित वैदेशिक रोजगारीका लागि गर्न बाँकी कामलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो। उहाँले जनप्रतिनिधि तथा कर्मचारीलाई यस विषयमा सहजीकरणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।

नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वीस सरकार विकास सहयोगको सहयोगमा हेल्भेटास नेपालद्वारा सञ्चालित सामी कार्यक्रमले ‘स्वदेशमै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ’ भन्ने मूल नाराका साथ सूचना तथा परामर्श प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्