कोल्पुखोला पुलमा सात दिन सवारी आवागमन बन्द हुने



नुवाकोट,असोज २० । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकअन्तर्गत धादिङ र नुवाकोटको सीमामा रहेको कोल्पुखोला पुलमा सात दिन सवारी आवागमन बन्द हुने भएको छ।

भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पुलको डेक उचालिएर आफ्नो स्थानबाट सरेपछि त्यसलाई पुनः पुरानै स्थानमा ल्याउन मर्मतको काम गर्न लागिएको हो।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका अनुसार असोज १९ गतेदेखि सात दिनसम्म पुलको डेक उचालेर मिलाउने कार्य हुनेछ। सो अवधिमा प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म पुलबाट सवारी आवागमन प्रभावित हुनेछ।

योजनाका अनुसार प्रत्येक एक घण्टा सवारी रोक्ने र अर्को एक घण्टा आवागमन खुला गर्ने व्यवस्था मिलाइएको छ। पुल मर्मतका क्रममा सर्वसाधारणमा पर्न जाने असुविधाप्रति योजना कार्यालयले क्षमायाचना गरेको छ।

प्रतिक्रिया दिनुहोस्