नदीकिनारमा सडक बनाउँदा बढ्यो बाढीपहिरोको जोखिम



काठमाडौँ, असोज २० । नदी तथा खोलाको किनारैकिनार सडक निर्माण गर्दा बाढीपहिरोको जोखिम बढ्नुका साथै राज्यको ठूलो लगानीसमेत क्षति हुने गरेको भन्दै विज्ञहरूले सडक निर्माणको मापदण्ड पुनरवलोकन गर्न सुझाव दिएका छन्।

पूर्वाधार विज्ञहरूका अनुसार नदीको प्राकृतिक बहाव क्षेत्र सङ्कुचित पारेर सडक बनाउँदा बाढीका बेला सडक, पुल तथा आसपासका बस्ती र खेतीयोग्य जमिनमा ठूलो क्षति पुग्ने गरेको छ। त्रिशूली, भोटेकोशी, सुनकोशी, कालीगण्डकी, बागमतीलगायत नदीकिनारका सडकमा पछिल्ला बाढीले पुर्‍याएको क्षतिले यसको जोखिम थप देखाएको उनीहरूको भनाइ छ।

पूर्वाधार विकास मन्त्रालयका सहसचिव उमेशविन्दु श्रेष्ठले अब नदीकिनारबाट सुरक्षित दूरी कायम गरेर सडक निर्माण गर्नुपर्ने बताउनुभयो। उहाँले जोखिमयुक्त क्षेत्रमा छोटा सुरुङमार्गलगायत वैकल्पिक संरचना निर्माण गर्नुपर्ने सुझाव दिनुभयो।

पूर्वसचिवहरू केशवकुमार शर्मा, तुलसी सिटौला र तानुकलाल यादवले पनि नदीकिनारका सडकको डिजाइन पुनरवलोकन गरी बाढीको सतहभन्दा माथि सडक निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ। जोखिमयुक्त स्थानमा सुरुङ, पुल तथा अन्य सुरक्षित संरचना प्रयोग गर्नुपर्ने उहाँहरूको सुझाव छ।

नेपालको सडक तथा वातावरणीय मापदण्डमा नदी र खोलाको संवेदनशीलता हेरी सामान्यतः २० देखि ५० मिटरसम्मको दूरी कायम गर्नुपर्ने व्यवस्था छ। विज्ञहरूले भने बढ्दो बाढीपहिरोको जोखिमलाई ध्यान दिँदै आगामी सडक निर्माणमा अझ सुरक्षित दूरी, बाढीको सम्भावित फैलावट र हरित पूर्वाधारको अवधारणा अनिवार्य रूपमा समेट्नुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्