कांग्रेसको आगामी राजनीतिक यात्रा ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’मा केन्द्रित हुने
काठमाडौँ, असोज २० । नेपाली कांग्रेसले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई नागरिकको दैनिक जीवनमा अनुभूत हुने परिणाममा रूपान्तरण गर्ने लक्ष्यसहित आगामी राजनीतिक यात्रा ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’मा केन्द्रित गर्ने प्रस्ताव अघि सारेको छ।
सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेस गर्नुभएको राजनीतिक प्रस्तावमा निर्वाचन र सत्ताकेन्द्रित राजनीतिबाट माथि उठ्दै शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र सामाजिक सुरक्षामा प्रत्यक्ष परिणाम दिने राष्ट्रिय शक्तिका रूपमा कांग्रेसलाई अघि बढाउने प्रस्ताव गरिएको छ।
प्रस्तावमा राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई नयाँ सन्दर्भमा पुनःपरिभाषित गर्दै युवाको आकांक्षा, पुस्तान्तरण, आन्तरिक लोकतन्त्र र नेतृत्व विकासलाई प्राथमिकता दिने उल्लेख छ। २०८२ भदौको युवा विद्रोहलाई नयाँ पुस्ताको राजनीतिक चेतनाको अभिव्यक्तिका रूपमा लिँदै त्यसका कारण र घटनाबारे स्वतन्त्र छानबिन आवश्यक रहेको कांग्रेसले जनाएको छ।
कांग्रेसले आगामी निर्वाचनमा निर्वाचनपूर्व गठबन्धन नगरी आफ्नै उम्मेदवार र कार्यक्रमसहित प्रतिस्पर्धा गर्ने प्रतिबद्धता जनाएको छ। पार्टीको आगामी गन्तव्य ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ हुने प्रस्तावमा उल्लेख छ।
यसैबीच कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रले विधान संशोधन प्रस्ताव पारित गरेको छ। संशोधित विधानअनुसार एक सभापति, एक वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्री रहनेछन्। केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने र ६६ जना मनोनीत हुने व्यवस्था गरिएको छ।
कांग्रेसका अनुसार सोमबार सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गर्नुभएको छ। ती प्रतिवेदनमाथि मंगलबार छलफल हुने तथा बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन दर्ता सुरु हुने कार्यक्रम छ।

