नवलपरासी पूर्वमा दुई महिनामा २७७ सर्पदंशका घटना



नवलपरासी , असोज २० । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना भएका छन्।

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख एवं जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईंका अनुसार गत साउन र भदौमा जिल्लामा सबैभन्दा धेरै कावासोती नगरपालिकामा १७४ जनालाई सर्पले डसेको छ। यसैगरी विनयी त्रिवेणी गाउँपालिकामा ८३, देवचुली नगरपालिकामा १०, बौदिकाली गाउँपालिकामा आठ र बुलिङटार गाउँपालिकामा दुई जनालाई सर्पले डसेको उहाँले जानकारी दिनुभयो।

अत्यधिक गर्मी तथा बर्खायामका कारण साउन र भदौमा तुलनात्मक रूपमा सर्पदंशका घटना बढी हुने गरेका छन्।

जिल्लाको मध्यविन्दु प्रादेशिक अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा सर्पदंशका बिरामीको उपचार हुँदै आएको छ। सघन उपचार कक्ष आवश्यक पर्ने बिरामीलाई भने चितवन पठाउने गरिएको छ।

चापागाईंका अनुसार जिल्लामा गोमन, करेत, भाइपर र राजगोमनलगायत विषालु सर्प पाइन्छन्।

यसैबीच, साउन र भदौमा जिल्लामा जनावरको टोकाइबाट दुई हजार ७७ जना घाइते भएका छन्। कुकुर, बिरालो, बाँदर, स्याललगायतका जनावरको टोकाइबाट उनीहरू घाइते भएका हुन्।

जनावरको टोकाइबाट घाइते हुनेमा कावासोती नगरपालिकाका मात्रै एक हजार ५५१ जना छन्। देवचुलीमा ३१२, विनयी त्रिवेणीमा १६४, गैँडाकोटमा २९, बुलिङटारमा १२, बौदिकालीमा पाँच तथा मध्यविन्दु र हुप्सेकोट गाउँपालिकामा दुई–दुई जना घाइते भएका छन्।

चापागाईंका अनुसार जिल्लामा बर्सेनि १० हजारभन्दा बढी सर्वसाधारण जनावरको टोकाइबाट घाइते हुने गरेका छन्।

जिल्लामा रेबिजविरुद्धको खोप पर्याप्त रहेकाले जनावरको टोकाइबाट घाइते भएकाको उपचारमा सहज भएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्