दसैँका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने
काठमाडौँ, असोज २० । यस वर्षको दसैँमा घर जाने यात्रुका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ ।यातायात व्यवस्था विभागमा आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला, विभागका महानिर्देशक राजीव पोखरेललगायत पदाधिकारीबीच बसेको बैठकले असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
बैठकपछि महानिर्देशक पोखरेलले दसैँमा यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्न अग्रिम टिकट बुकिङ खुला गर्न लागिएको जानकारी दिनुभयो । उहाँले दसैँका लागि यातायात व्यवस्थापनको आवश्यक तयारी भइरहेको बताउनुभयो ।
दसैँका बेला राजधानीबाट विभिन्न जिल्लातर्फ जाने यात्रुको चाप बढ्ने भएकाले अग्रिम टिकट बुकिङ, सवारीसाधन व्यवस्थापन तथा यात्रु सेवासम्बन्धी तयारीलाई प्राथमिकता दिइएको विभागले जनाएको छ ।
महानिर्देशक पोखरेलका अनुसार यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन सम्बन्धित निकाय, यातायात व्यवसायी र सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको छ ।यात्रुको चापलाई ध्यानमा राख्दै यातायात सेवा सुरक्षित र व्यवस्थित बनाउन आवश्यक व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।
यात्रुलाई टिकट पाउन समस्या नहोस्, अनावश्यक दुःख नपाओस् र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सकून् भन्ने उद्देश्यले अग्रिम टिकट बुकिङ तथा यातायात व्यवस्थापनको तयारी अघि बढाइएको विभागले जनाएको छ ।

