मङ्सिरदेखि सञ्चालनमा आउने भयो कमला पुल
जनकपुरधाम,असोज २०। पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पुललाई आगामी मङ्सिरदेखि सञ्चालनमा ल्याउने गरी निर्माण कार्य तीव्र पारिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले जनाएको छ ।
कार्यालय प्रमुख कृष्णकुमार महतोका अनुसार पुलको १० नम्बर पिलर उठाउने काम सम्पन्न भइसकेको छ भने सुपर ढलान भइरहेको छ । फाउण्डेसनसहित तीनवटा पिलरको सबलीकरण तथा ढलानको कामसमेत अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।
विसं २०७८ असारमा उद्घाटनको तयारी भइरहेका बेला आएको बाढीले पुलको पिलर भाँचिएपछि पुल जीर्ण बनेको थियो । पुनःनिर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले लामो समयदेखि कमला नदी तर्न डुङ्गाको सहारा लिनुपरेको थियो ।
पुल निर्माणमा देखिएका समस्या पहिचान गरी आवश्यक सहजीकरण गरिएपछि कामले गति लिएको प्रमुख महतोले बताउनुभयो । पुलका दुवैतर्फ पुग्ने सडकमा माटो भर्ने काम सम्पन्न भएकाले मङ्सिरदेखि पुल सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँको भनाइ छ ।
कमला पुल निर्माणको ठेक्का विसं २०६८ मा पप्पु–लुम्बिनी जेभीले पाएको थियो । अहिले पनि सोही निर्माण कम्पनीले पुलको पुनःनिर्माण गरिरहेको छ ।
यसैबीच हुलाकी सडकअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको ४०६ दशमलव ४३ किलोमिटर सडकखण्डमध्ये ३४७ दशमलव ६३ किलोमिटर कालोपत्र भइसकेको छ । उक्त सडकखण्डमा पर्ने २४ वटा पुलको निर्माणसमेत सम्पन्न भएको छ ।
सूचना अधिकारी रञ्जितकुमार रायका अनुसार सिरहाको ५७ दशमलव ५२ किलोमिटरमध्ये २९ दशमलव ९८ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने २७ दशमलव ४६ किलोमिटर निर्माणाधीन छ । धनुषाको ८९ दशमलव ५२ किलोमिटरमध्ये ७४ दशमलव ५८ किलोमिटर निर्माण सम्पन्न र १४ दशमलव ९४ किलोमिटर निर्माणाधीन छ ।
त्यस्तै महोत्तरीको ९३ दशमलव ५ किलोमिटरमध्ये ९१ दशमलव ५६ किलोमिटर निर्माण सम्पन्न भएको छ भने एक दशमलव ९४ किलोमिटर बाँकी छ । सर्लाहीको १६६ दशमलव २ किलोमिटरमध्ये १५१ दशमलव ५१ किलोमिटर निर्माण सम्पन्न र १४ दशमलव ५१ किलोमिटर निर्माणाधीन रहेको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०८२/८३ भित्र हुलाकी सडक निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि राजमार्ग क्षेत्रमा पर्ने घरटहरा हटाउन ढिलाइ तथा विभिन्न स्थानमा जग्गासम्बन्धी विवादका कारण केही काम प्रभावित भएको प्रमुख महतोले बताउनुभयो । बाँकी काम समयमै सम्पन्न गर्न निरन्तर प्रयास भइरहेको उहाँको भनाइ छ ।
मधेस प्रदेशका आठवटै जिल्लामा हुलाकी सडक तथा पुल निर्माण तीव्र भएपछि विगतमा दुर्गम मानिएका ग्रामीण क्षेत्र सडक सञ्जालसँग जोडिँदै गएका छन् । सडक निर्माणले स्थानीयवासीको आवागमन सहज हुनुका साथै प्रदेशको आर्थिक गतिविधि र विकासमा गति आउने तथा रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।

