किसानलाई छिट्टै परिचयपत्र वितरण गरिने
काठमाडौँ, असोज २० । सरकारले किसानलाई परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । कृषि सञ्चार तथा मानव संशाधन विकास केन्द्रमार्फत किसान सूचीकरणमा समावेश भएका किसानलाई छिट्टै परिचयपत्र वितरण गर्न लागिएको हो ।
किसान सूचीकरण कार्य पूरा भएका स्थानीय तहबाट परिचयपत्र वितरण गर्दै किसानलाई आवश्यक सेवा तथा सहयोग उपलब्ध गराउने योजना रहेको केन्द्रका अनधिकृत डा. सञ्जीव पण्डितले जानकारी दिनुभयो । परिचयपत्र प्राप्त गर्ने किसानलाई कृषि बीमा, अनुदान, राहत, उत्पादन प्रोत्साहन, कृषि यान्त्रीकरण, प्रविधि हस्तान्तरण, सहुलियतपूर्ण कृषि कर्जा लगायत लक्षित कृषि सेवा उपलब्ध गराउन सहज हुने जनाइएको छ ।
परिचयपत्रमार्फत किसानले कति जमिनमा कस्तो बाली लगाउँछन्, कति पशुपन्छी पाल्छन्, सिँचाइको अवस्था, कृषि उत्पादन तथा व्यवसायको अवस्थालगायत विवरणलाई तथ्याङ्कमा आधारित बनाउन सहयोग पुग्ने केन्द्रले जनाएको छ ।
सरकारले ‘किसान सूचीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७’ तथा ‘किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०८१’ मार्फत किसान परिचयपत्र वितरणका लागि संस्थागत तथा प्राविधिक आधार तयार गरी कार्यान्वयनमा ल्याएको हो ।
केन्द्रले वास्तविक किसानको पहिचानका लागि सबै स्थानीय तहसँग समन्वय गर्दै आएको छ । किसानको खेतीयोग्य भूमि, सिँचाइ, बाली तथा पशुपन्छी उत्पादन र कृषि व्यवसायलगायत विवरण सङ्कलन गरी सूचीकरण गर्ने काम भइरहेको छ ।
कृषि गणना २०७८ अनुसार देशभर ४१ लाख ३० हजार किसान रहेका छन् । अहिलेसम्म २६ लाखभन्दा बढी किसान सूचीकरणमा आबद्ध भइसकेका छन् । बाँकी किसानलाई समेत सूचीकरणमा समेट्ने काम जारी रहेको केन्द्रले जनाएको छ ।

