विजयादशमीको टीकाको साइत कात्तिक ४ बिहान १०ः२६ बजे
काठमाडौँ, असोज २० । यस वर्षको विजयादशमीको टीकाको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
समितिका अनुसार सो दिन बिहान ८ः४९ बजे देवी विसर्जन गरी १०ः२६ बजे शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका र आशीर्वाद थाप्न सकिनेछ । टीका लगाउँदा टीका थाप्ने व्यक्ति पश्चिम मोहडा फर्कनुपर्ने समितिले जनाएको छ ।
विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि बिहान १०ः२६ बजेको साइत निर्धारण गरिएको समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो । राज्य सञ्चालकले भने समितिले तोकेको साइतमै मान्यजनबाट टीका तथा प्रसाद थाप्नुपर्ने उहाँले बताउनुभयो ।
यस वर्ष असोज २५ गते आइतबारदेखि नवरात्रारम्भ हुँदैछ । सो दिन बिहान ११ः४७ बजे घटस्थापनाको साइत उत्तम रहेको समितिले जनाएको छ । चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापनाअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गर्नुपर्ने समितिले जनाएको छ ।
असोज २६ गते झण्डा फेर्ने साइत बिहान १०ः०७ बजे रहेको छ । असोज २९ गते पचलीभैरव यात्रा, असोज ३१ गते फूलपाती तथा कात्तिक १ गते महाअष्टमी पर्व परेको छ । कात्तिक १ गते राति कालरात्रि पर्व मनाइनेछ भने कात्तिक २ गते पनि अष्टमी तिथि रहेको छ ।
कात्तिक ३ गते महानवमी र कात्तिक ४ गते विजयादशमी परेको छ । विजयादशमीका दिन बिहान १०ः५१ बजे तुलजा भवानी यात्राको साइत तथा ११ः५२ बजे तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत रहेको समितिले जनाएको छ । सोही दिन खड्गयात्रा पनि हुनेछ ।
कात्तिक ८ गते कोजाग्रतव्रत तथा पूर्णिमा व्रत परेको छ । सो दिन बेलुकी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दसैँ पर्व समापन हुनेछ । कात्तिक ९ गते सोमबार कोजाग्रत पूर्णिमा परेको समितिले जनाएको छ ।
नेपालीको प्रमुख राष्ट्रिय चाडका रूपमा मनाइने दसैँमा मान्यजनबाट टीका र आशीर्वाद थाप्ने परम्परा छ । दसैँमा विभिन्न पेसा तथा व्यवसायका क्रममा थातथलोभन्दा टाढा रहेका नेपाली घर फर्कने भएकाले बजार तथा यातायातमा समेत चहलपहल बढ्ने गर्छ । दसैँमा विशेषगरी बालबालिकाले पिङ खेल्ने, चङ्गा उडाउने तथा परिवारसँग रमाइलो गर्ने गर्छन् भने देशभरका शक्तिपीठमा भक्तजनको विशेष उपस्थिति रहने गर्दछ ।

