नक्कली नोट कारोबार गरेको आरोपमा दुई जना पक्राउ
ओखलढुङ्गा,असोज २१ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा बोका किनबेचका क्रममा नक्कली नोट प्रयोग गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चम्पादेवी गाउँपालिकाको केउरिनीका २१ वर्षीय कृष्ण खत्री र ३३ वर्षीय ध्रुवबहादुर खत्री रहेका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनका अनुसार उनीहरूले सुनकोशी–९ का स्थानीय हस्तबहादुर तामाङ र वीरबहादुर तामाङबाट तीन बोका खरिद गर्दा रु २८ हजारको कारोबार गरेका थिए ।
सो क्रममा उनीहरूले रु १९ हजार बराबरका रु एक हजार दरका १९ थान नक्कली नोट प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ । त्यसपछि दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक महर्जनले बताउनुभयो ।
प्रारम्भिक सोधपुछका क्रममा उक्त नक्कली नोट काठमाडौँबाट ल्याएको खुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

