वीर अस्पतालको आकस्मिक कक्षमा उपचार नपाएको बिरामीको गुनासो
काठमाडौँ, असोज २१ गते । विपन्न वर्गको अस्पतालका रूपमा परिचित वीर अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुगेका सर्लाही हरिवनका हेमसागर सुवेदीले घण्टौँसम्म उपचार नपाएको गुनासो गर्नुभएको छ । अत्यधिक पेट दुखेपछि जनकपुरबाट काठमाडौँ आउनुभएका सुवेदीलाई स्वास्थ्य बिमाको टिकट काट्ने क्रममा करिब दुई घण्टा लाइनमा बस्नुपरेको परिवारले जनाएको छ। टिकट काट्ने काउन्टरमा करिब १५० जना लाइनमा रहेको र सर्भरमा समस्या आएपछि उहाँले तत्काल उपचार पाउन नसकेको बताइएको छ।
आकस्मिक कक्षमा पुगेको करिब तीन घण्टासम्म चिकित्सकले अवस्था नहेरेपछि आफन्तले सुवेदीलाई वीर अस्पतालबाट निकालेर काठमाडौँ मेट्रो अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल पुर्याएका थिए। शिक्षण अस्पतालमा परीक्षणपछि उहाँको एपेन्डिक्सको शल्यक्रिया मङ्गलबार बिहान गरिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले आकस्मिक अवस्थामा आएका बिरामीलाई स्वास्थ्य बिमा वा आर्थिक अवस्थाका कारण उपचारबाट वञ्चित गर्न नमिल्ने बताउनुभएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले घटनाबारे पुष्टि भए छानबिन गरी आवश्यक कारबाही गरिने बताउनुभएको छ।
वीर अस्पतालका निर्देशक डा. विकास नेपालले भने आकस्मिक कक्षमा बिरामीले उपचार नपाउने अवस्था हुनै नसक्ने बताउँदै घटनाबारे आफूले बुझ्ने प्रतिक्रिया दिनुभएको छ।

