भोटेकोशी बाढी प्रभावित परिवारलाई रेडक्रसले एक लाख नगद दिने
काठमाडौँ, असोज २१ । नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार रु एक लाखका दरले नगद सहायता उपलब्ध गराउने भएको छ ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित ‘समुन्नति कार्यक्रम’मार्फत बाढी प्रभावित परिवारलाई नगद सहायता प्रदान गर्न रेडक्रस र मन्त्रालयबीच सम्झौता भएको हो ।
मन्त्रालयका कार्यवाहक सचिव चक्रबहादुर बुढा र नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले मङ्गलबार सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । कार्यक्रममा मन्त्री सीता बादी, रेडक्रसका महामन्त्री ऋषिरमण खनाल तथा अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रमुख डेभिड फिसरको उपस्थिति थियो ।रेडक्रसका अनुसार बाढीबाट प्रभावित झन्डै छ हजार परिवारलाई सहायता उपलब्ध गराउने प्रारम्भिक अनुमान गरिएको छ ।
प्रभावित परिवारको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट लिएर आवश्यक प्रमाणीकरणपछि लाभग्राहीको बैंक खातामा रकम सिधै जम्मा गरिनेछ । उक्त रकम खाद्यान्न, कपडा, स्वास्थ्य तथा सरसफाइ, घरायसी सामग्री, यातायात, सञ्चार तथा जीविकोपार्जनलगायत तत्काल आवश्यकतामा प्रयोग गर्न सकिनेछ । महिला नेतृत्व भएका परिवार, अपाङ्गता भएका व्यक्ति, विशेष हेरचाह आवश्यक बालबालिका, ज्येष्ठ नागरिक, सीमान्तकृत समुदाय तथा अन्य जोखिममा रहेका परिवारलाई सहायता वितरणमा प्राथमिकता दिइने रेडक्रसले जनाएको छ ।
बाढीपछि रेडक्रसले राहत, आवास, खानेपानी तथा सरसफाइ, मानसिक स्वास्थ्य, संरक्षण र समुदायसँगको समन्वयलगायतका क्षेत्रमा सहायता जारी राखेको जनाएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घले समेत बाढी प्रभावित क्षेत्रमा प्रतिकार्यका लागि सहयोग जुटाइरहेको जनाएको छ ।
रेडक्रसले आगामी तीन महिनाका लागि आवश्यक तत्कालीन कार्ययोजना समेत तयार गरेको छ । साथै, बेपत्ता व्यक्तिको खोजी तथा शव व्यवस्थापनमा समेत सम्बन्धित निकायसँग सहकार्य भइरहेको जनाएको छ।

