काठमाडौंसहित विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा, शुक्रबारसम्म मौसम अस्थिर रहने
काठमाडौं, असोज २१ । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा बुधबार हावाहुरीसँगै मेघगर्जन, चट्याङ र वर्षा भइरहेको छ। मनसुन बाहिरिने क्रमसँगै पश्चिमी वायुको प्रभावसमेत रहेकाले आगामी तीन दिनसम्म मौसम पूर्णरूपमा स्थिर नहुने मौसमविद्ले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौं उपत्यकामा आज मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुनसक्ने उहाँले बताउनुभयो।
विभागका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुनसक्ने जनाइएको छ।
मौसमविद् लामिछानेका अनुसार पछिल्लो केही घण्टामा चितवन, पाल्पा र कैलाली आसपासका क्षेत्रमा भारी वर्षा भएको छ। नवलपुर, तनहुँ, गोरखा, अर्घाखाँची र रूपन्देहीलगायत क्षेत्रमा समेत मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
काठमाडौंमा समेत हावाको गति बढेको छ। चितवन–हेटौँडा–मकवानपुर आसपास विकसित भएका बादल काठमाडौं उपत्यकातर्फ सर्दै आएकाले हावाहुरीसँगै वर्षाको सम्भावना बढेको मौसमविद् लामिछानेले बताउनुभयो। उहाँका अनुसार मेघगर्जन र चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेकाले पानी परेपछि हावाको गति क्रमशः कम हुँदै जानेछ।
बिहीबार आजको तुलनामा मौसममा केही सुधार देखिए पनि पहाडी तथा तराईका विभिन्न स्थानमा वर्षाको सम्भावना कायमै रहनेछ। शुक्रबारसम्म विभिन्न स्थानमा बदलीसँगै मेघगर्जन, चट्याङ र वर्षाको गतिविधि दोहोरिन सक्ने विभागको अनुमान छ। वर्षा लामो समय निरन्तर हुनेभन्दा छोटो समयमा तीव्र भएर केही समयपछि रोकिने प्रकृतिको हुने मौसमविद् लामिछानेले बताउनुभयो।
शनिबारदेखि भने मौसममा क्रमिक सुधार हुने अनुमान गरिएको छ। मनसुन बाहिरिने क्रममा रहेको र पश्चिमी वायुको प्रभावसमेत देखिएकाले देशभर एकै प्रकारको मौसम नरहेको उहाँको भनाइ छ। यही कारण एक स्थानमा घाम लागिरहेका बेला अर्को स्थानमा मेघगर्जनसहित वर्षा हुने अवस्था देखिएको छ।
दसैँ नजिकिँदै गर्दा केही दिन मौसम अस्थिर भए पनि लामो समयसम्म लगातार वर्षा हुने अवस्था नरहेको मौसमविद् लामिछानेले बताउनुभयो। छोटो समयमा हावाहुरी, चट्याङ, असिना र तीव्र वर्षा हुनसक्ने भएकाले यात्रा तथा बाहिरी काममा निस्कँदा तत्कालीन मौसम सूचना हेर्न उहाँले आग्रह गर्नुभएको छ।

