हावाहुरी र वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित



काठमाडौँ, असोज २१ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र हावाहुरी र वर्षाका कारण प्रभावित भएको छ।

महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुङ्ग्याउँदै पारित गर्ने तयारी गरिए पनि अचानक आएको ठूलो वर्षा र हावाहुरीका कारण बन्द सत्र प्रभावित भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताउनुभयो।

बिहान साढे १० बजे बन्द सत्र सुरु गर्ने तयारी भए पनि वर्षाका कारण केही ढिलाइ भएको हो। खुलामञ्चमा आयोजित बन्द सत्रमा सहभागी हुन महाधिवेशन प्रतिनिधिहरूलाई समेत मौसमका कारण समस्या भएको छ।

कांग्रेसले बन्द सत्र खुलामञ्चमा आयोजना गरेको छ भने भृकुटीमण्डपमा खाना तथा राष्ट्रिय सभा गृहमा निर्वाचन समितिले निर्वाचनसम्बन्धी काम गरिरहेको छ। कांग्रेसले भोलि बिहान मतदान गर्ने तयारी गरेको छ।

बन्द सत्रमा प्रवेश खुला गरिएको कांग्रेसले जनाएको छ।खुलामञ्चमा प्रवेश पाएका सबैलाई बन्द सत्रमा सहभागी हुन दिइने प्रवक्ता चालिसेले बताउनुभयो। उहाँका अनुसार बन्द सत्रको प्रत्यक्ष प्रसारण कांग्रेसको सामाजिक सञ्जालमार्फत गरिनेछ भने अन्य सञ्चारमाध्यमले समेत प्रत्यक्ष प्रसारण गर्न पाउनेछन्।

बन्द सत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गर्नुभएको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सङ्गठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफलपछि पारित गर्ने कार्यसूची छ।

सोमबारदेखि जारी छलफलमा महाधिवेशन प्रतिनिधिहरूले पार्टीको आगामी राजनीतिक दिशा, सङ्गठन सुदृढीकरण, राजनीतिक संस्कृतिमा सुधार तथा आर्थिक व्यवस्थापनलगायत विषयमा सुझाव र धारणा राख्दै आएका छन्।

आज बाँकी रहेका धारणा तथा सुझाव समेटेर प्रस्ताव र प्रतिवेदन पारित गर्ने प्रक्रिया अघि बढाइने कांग्रेसले जनाएको छ। बन्द सत्रको कार्यक्रमपछि सभापति थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ।

राजनीतिक, सङ्गठनात्मक र आर्थिक प्रतिवेदन पारित भएपछि कांग्रेस महाधिवेशन नेतृत्व चयनको प्रक्रियातर्फ अघि बढ्नेछ। नयाँ नेतृत्व चयनका लागि सभापतिमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दर्ता गराएका छन्। भोलि हुने मतदानसँगै महाधिवेशनको ध्यान नेतृत्व चयनतर्फ केन्द्रित हुनेछ।

प्रतिक्रिया दिनुहोस्