पञ्चकन्यामा मातृ तथा बाल स्वास्थ्य र सरसफाइसम्बन्धी नीति संवाद



नुवाकोट, असोज २१ । पञ्चकन्या गाउँपालिकामा मातृ तथा बाल स्वास्थ्य, महिनावारी स्वच्छता व्यवस्थापन तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी पालिकास्तरीय नीति संवाद कार्यक्रम सम्पन्न भएको छ।

पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विमला केसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, शाखा प्रमुख, दुप्चेश्वर गाउँपालिकाका जनस्वास्थ्य अधिकृत, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, विद्यार्थी, रुडेक नेपालका प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता थियो।

रुडेक नेपालको आयोजना, पञ्चकन्या गाउँपालिकाको समन्वय तथा गुड नेभर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा मातृ तथा बाल स्वास्थ्य, महिनावारी स्वच्छता व्यवस्थापन, खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी विद्यमान नीतिगत व्यवस्था, सेवा प्रवाह तथा स्थानीय तहको भूमिकाबारे छलफल गरिएको थियो।

सहभागीहरूले स्वास्थ्य तथा सरसफाइका क्षेत्रमा स्थानीय तहले अपनाउनुपर्ने नीतिगत व्यवस्था, विद्यालय तथा स्वास्थ्य संस्थामा आवश्यक सुविधा र समुदायस्तरमा स्वच्छता प्रवर्द्धनका विषयमा धारणा राखेका थिए। महिनावारीका समयमा किशोरी तथा महिलाले भोग्नुपर्ने समस्या न्यूनीकरण गर्न आवश्यक पूर्वाधार र सचेतनामा जोड दिइएको थियो।

कार्यक्रममा स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था तथा सरोकारवाला निकायबीच समन्वय गर्दै मातृ तथा बाल स्वास्थ्य, महिनावारी स्वच्छता र खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा प्रभावकारी काम गर्ने विषयमा छलफल भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्