दसैँमा नयाँ पैसा लिन सजिलो: बैङ्कको एटिएमबाटै १०० को नोट पाइने
काठमाडौँ,असोज २१। नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै रु १०० का नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ ।
राष्ट्र बैङ्कको निर्देशनसँगै केही बैङ्क तथा वित्तीय संस्थाले नयाँ खाले एटिएम मेसिनबाट रु १०० का नोट पनि वितरण गर्न थालेका छन् ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पु¥याएको अवस्थामा नयाँ नोटबारे अनावश्यक प्रचारप्रसार नगरी चाडपर्वलाई लक्षित गर्दै राष्ट्र बैङ्क र वाणिज्य बैङ्कबाट सुकिला र सफा नोट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
“एकातर्फ पैसा सटही गर्ने काम दैनिक गर्नुपर्ने नियमित काम जस्तै हो । यसलाई सूचना नै निकालेर गरिरहनुपर्छ भन्ने छैन”, उहाँले भन्नुभयो, “चाडपर्वकै मुखमा भोटेकोशी बाढीले ठूलो जनधनको क्षति भएकाले पनि राष्ट्र बैंकले दसैँ मनाउन भनी सूचना जारी गर्न पनि उपयुक्त देखिँदैन । हामीले यो ढङ्गले गर्न लागेका हौँ ।”
प्रवक्ता पौडेलले यही असोज १ गतेदेखि राष्ट्र बैङ्कको थापाथली, राष्ट्र बैंकका प्रादेशिक कार्यालय र वाणिज्य बैङ्कबाट सुकिला र सफा नोट दिने काम भइरहेको जानकारी दिनुभयो ।
प्रवक्ता पौडेलले पनि विगत ४र५ वर्षदेखि राष्ट्र बैंकले चाडपर्व लक्षित गर्दै नयाँ नोट बजारमा ल्याउने परिपाटीलाई क्रमशः न्यूनीकरण गर्ने प्रयास गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गत भदौ ३१ गतेसम्म रु सात खर्ब ९४ अर्ब करेन्सी इन सर्कुलेसन भएको छ । सो रकमको करिब ८ देखि १० प्रतिशतसम्मको रकम दसैँमा वृद्धि हुने अनुमान गरेका छौँ ।”

