कोरला नाकादेखि लेतेसम्म पाँच सय कन्टेनर सडकमै रोकिए
मुस्ताङ, असोज २१ । मुस्ताङको लेतेदेखि कोरला नाकासम्म करिब पाँच सय कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएका छन्। असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हिमपातका कारण सडक अवरुद्ध भएपछि ती कन्टेनर एक सातादेखि जिल्लाका विभिन्न स्थानमा रोकिएका हुन्।
भारी वर्षाका कारण अवरुद्ध म्याग्दीको पोखरेबगर, कुनौटे र बैसरीलगायत स्थानमा सडक मर्मतको काम भइरहेको छ। सडक सञ्चालनमा आउन अझै एक साता लाग्ने सडक आयोजनाका प्राविधिकले बताएका छन्। बेनी–जोमसोम सडक अवरुद्ध हुँदा ७० भन्दा बढी कन्टेनर र एक सयभन्दा बढी विद्युतीय सवारीसाधन जोमसोमस्थित बसपार्कमा रोकिएका छन्।
यता बेनी–जोमसोम सडक अवरुद्ध रहे पनि कोरला नाकाबाट केही मालसामान बोकेका कन्टेनर भने जोमसोम ल्याइएको छ।कालीगण्डकी करिडोर सडक आयोजनाले जोमसोम–कोरला खण्डको अवरुद्ध सडक मर्मत गरेपछि मुस्ताङ भन्सार बन्दरगाहमा रोकिएका केही कन्टेनर जोमसोम ल्याइएको हो।
बाढीपहिरोका कारण नाका क्षेत्रमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुँदा चीनबाट ल्याइएका सामानको भन्सार जाँचपाससमेत प्रभावित भएको थियो। म्याग्दी खण्डका विभिन्न स्थानमा विद्युत्का पोलमा क्षति पुगेपछि एक सातासम्म मुस्ताङमा ३३ केभी केन्द्रीय विद्युत् प्रसारण लाइन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो। यसका कारण उपल्लो मुस्ताङ भन्सार कार्यालयको नियमित सेवा प्रभावित हुँदै आएको थियो।
कोरला नाकामा रोकिएका कन्टेनर चालक गोविन्द गुरुङका अनुसार चीनबाट कोरला नाका हुँदै आयात गरिएका करिब तीन सय कन्टेनर र दुई सयभन्दा बढी विद्युतीय सवारीसाधन अझै भन्सार जाँचपासका लागि रोकिएका छन्।
दसैँ–तिहारलाई लक्षित गरी चीनबाट आयात गरिएका मालसामान समयमै गन्तव्यमा पुर्याउन नसक्दा व्यापारीसँगै उपभोक्ता पनि प्रभावित भएका छन्। आयात गरिएका सामग्री समयमै बजारमा पुग्न नसक्दा चाडपर्वका लागि आवश्यक वस्तुको आपूर्ति प्रभावित हुनुका साथै नेपाली बजारको आर्थिक गतिविधिसमेत प्रभावित भएको छ।

