चाडपर्व सुरक्षाका लागि ५० हजारभन्दा बढी प्रहरी परिचालन
काठमाडौँ,असोज २१ । बडादसैँ, दीपावली, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्व लक्षित सुरक्षा योजना–२०८३’ लागू गरेको छ । चाडपर्वका समयमा नागरिकको सुरक्षा, सहज आवागमन तथा सम्भावित आपराधिक गतिविधि नियन्त्रणका लागि देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार चाडपर्वका समयमा चोरी, डकैती, जुवातास, सट्टेबाजी, तस्करी तथा सीमा अपराध हुन सक्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा प्रहरीको विशेष निगरानी रहनेछ । विस्फोटक पदार्थको ओसारपसार, भन्सार छली, बैङ्क तथा वित्तीय संस्थामा चोरी–डकैती, लुटपाट, कालोबजारी, कृत्रिम अभाव, म्याद गुज्रिएका तथा मिसावटयुक्त वस्तुको बिक्री, हुन्डी र नक्कली नोटको कारोबारलाई पनि सुरक्षा चुनौतीका रूपमा लिइएको छ ।
प्रहरीले यात्रुको सुरक्षालाई ध्यान दिँदै ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । अन्तर्राष्ट्रिय सीमा नाकामा १०८ वटा सहायता कक्ष स्थापना गरिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा कमान्ड पोस्ट स्थापना गरी आवश्यकताअनुसार प्रहरी परिचालनको व्यवस्था मिलाइएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।
चाडपर्व अवधिभर पैदल, मोबाइल तथा ग्रामीण गस्ती बढाइनेछ भने विभिन्न स्थानमा चेकपोस्ट र ट्राफिक प्रहरीसहितको जाँचको व्यवस्था गरिएको छ । सरकारी तथा महत्वपूर्ण संस्थान, कारागारलगायत संवेदनशील स्थानको सुरक्षा पनि मजबुत बनाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले ड्रोन, सिसिटिभी तथा शरीरमा लगाउने क्यामेरालगायत प्रविधिको प्रयोग गरी सुरक्षा निगरानी बढाउने भएको छ । काठमाडौँ उपत्यकासहित प्रमुख सहरका बजार, सपिङ मल, मार्ट, बैङ्क तथा वित्तीय संस्था र सुनचाँदी तथा बहुमूल्य वस्तुको कारोबार हुने क्षेत्रलाई विशेष निगरानीमा राखिनेछ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय र ज्येष्ठ नागरिकमाथि हुन सक्ने हिंसा नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाइने प्रहरीले जनाएको छ ।
चाडपर्वमा काठमाडौँ उपत्यकाबाट ठूलो सङ्ख्यामा यात्रु बाहिरिने भएकाले सडक दुर्घटना न्यूनीकरणलाई पनि प्रहरीले प्राथमिकतामा राखेको छ । सवारी चालकको अनुमतिपत्र जाँच, लामो दूरीका सवारीमा दुई जना चालकको व्यवस्था तथा सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिने व्यवस्था कडाइका साथ लागू गरिनेछ ।
प्रहरीका अनुसार सबै सवारीसाधनले यात्रु बोकेर सञ्चालन हुनुअघि सात दिनभित्र गरिएको यान्त्रिक परीक्षणको प्रतिवेदन पेस गर्नुपर्नेछ । नेपालमा पहिलोपटक यस्तो यान्त्रिक परीक्षण प्रतिवेदन अनिवार्य गर्न लागिएको प्रहरीले जनाएको छ ।
उपत्यकाबाट बाहिरिने सवारीमा यात्रुलाई दुःख दिने, महँगोमा टिकट बिक्री गर्ने, कालोबजारी गर्ने तथा सिट नभएको टिकट जारी गर्ने प्रवृत्ति नियन्त्रणमा समेत विशेष निगरानी गरिनेछ । चाडपर्वका समयमा हुन सक्ने दुर्घटना र जनधनको क्षति न्यूनीकरणका लागि मातहतका निकायलाई आवश्यक निर्देशन दिइसकिएको प्रवक्ता काफ्लेले बताउनुभयो ।
यसैगरी सम्भावित विपद्सँग जुध्न प्रहरीले विशेष टोलीसमेत तैनाथ गरेको छ । विपद् व्यवस्थापन गुल्मका प्रहरी कर्मचारीलाई २४ सै घण्टा खोज, उद्धार, राहत तथा सुरक्षा कार्यका लागि तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ।

