कांग्रेसमा सभापतिको जति नै हक कार्यकर्ताको हुन्छ : गगन थापा
काठमाडौँ,असोज २१ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा सभापतिको जति नै हक र हैसियत भुइँमा बसेर काम गर्ने कार्यकर्ताको पनि हुने बताउनुभएको छ।
काठमाडौँको खुलामञ्चमा जारी कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस एउटै परिवार भएकाले अहिले पार्टीको जिम्मेवारी कसले लिने भन्ने विषयमा मात्रै प्रतिस्पर्धा भइरहेको बताउनुभयो। उहाँले सभापति वा अन्य कुनै पद निश्चित समयका लागि दिइने जिम्मेवारी मात्रै भएको स्पष्ट पार्नुभयो।
बन्दसत्रमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै यस्तो अवस्थामा कांग्रेस एकताबद्ध भएर देशलाई दिशा दिनुपर्ने बताउनुभयो। उहाँले कांग्रेसलाई केवल सरकार बनाउने पार्टीका रूपमा सीमित गर्न नहुने भन्दै विचार, सिद्धान्त र मुलुकको दीर्घकालीन दिशाबारे बहस गर्नुपर्नेमा जोड दिनुभयो।
आङदेम्बेले कांग्रेसले अनुहार परिवर्तन गर्ने मात्र नभई युगलाई दिशानिर्देश गर्ने राजनीतिक शक्ति बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो।यस्तै, कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसलाई गुनासो गर्नेभन्दा आशा, विश्वास र भरोसा गर्न सकिने पार्टीका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। महाधिवेशनबाट कसले कुन पद जित्छ भन्ने विषयमा मात्रै केन्द्रित नहुन प्रतिनिधिहरूलाई आग्रह गर्दै उहाँले कांग्रेसलाई लोकतान्त्रिक मूल्य र संस्कृतिअनुसार अघि बढाउनु नै मुख्य उद्देश्य हुनुपर्ने बताउनुभयो।
महाधिवेशनको बन्दसत्रमा प्रस्तुत विभिन्न प्रतिवेदन तथा प्रस्तावसमेत पारित भएका छन्। सभापति थापाले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, उपसभापति शर्माले पेश गर्नुभएको समसामयिक विषयसम्बन्धी प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेले प्रस्तुत गर्नुभएको प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले पेश गर्नुभएको आर्थिक प्रतिवेदन पारित भएको हो।
महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन हुँदैछ। बिहान १० बजेदेखि सुरु हुने मतदानका लागि प्रदेशगत रूपमा खुलामञ्च, राष्ट्रिय सभा गृह र नेपाल प्रज्ञा–प्रतिष्ठानमा मतदान केन्द्र तोकिएको छ।

