दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौँ,असोज २२ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै ग्रामीण, दुर्गम तथा हिमाली क्षेत्रमा गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा विस्तारमा जोड दिएको बताउनुभएको छ ।
इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटले आयोजना गरेको १७औँ एसिया प्रशान्त क्षेत्रीय इन्टरनेट गभर्नेन्स फोरम–२०२६ को समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले डिजिटल प्रविधिले नागरिकको शिक्षा, सञ्चार, व्यवसाय, सार्वजनिक सेवा तथा सार्वजनिक जीवनमा सहभागितालाई सहज बनाउँदै गएको बताउनुभयो ।
उहाँले नेपालको भौगोलिक विविधताका कारण ग्रामीण, दुर्गम तथा हिमाली क्षेत्रमा इन्टरनेट पहुँच विस्तार चुनौतीपूर्ण भए पनि सरकारले त्यसलाई प्राथमिकतामा राखेको बताउनुभयो । इन्टरनेटको पहुँच विस्तारसँगै सेवाको गुणस्तर, विश्वसनीयता र सबलता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।
“डिजिटल रूपान्तरणको उद्देश्य देशलाई डिजिटल बनाउनु मात्र होइन, डिजिटल प्रविधिमार्फत नागरिकको जीवनमा सुधार ल्याउनु पनि हो,” मन्त्री तिमिल्सिनाले भन्नुभयो ।
इन्टरनेटको पहुँच विस्तार गरेर मात्र नपुग्ने उल्लेख गर्दै उहाँले नागरिकले आवश्यक परेको समयमा भरपर्दो र गुणस्तरीय सेवा पाउनुपर्नेमा जोड दिनुभयो । व्यवसायका लागि विश्वसनीय सञ्जाल, सार्वजनिक सेवाका लागि निरन्तर सञ्चार तथा विपद्का समयमा समेत सञ्चालनमा रहने सञ्चार प्रणाली आवश्यक रहेको उहाँले बताउनुभयो ।
मन्त्री तिमिल्सिनाले हालैको रसुवा–भोटेकोशी–त्रिशूली विपद्ले सञ्चार पूर्वाधारको महत्त्व थप उजागर गरेको बताउनुभयो । सडक तथा अन्य भौतिक संरचना क्षतिग्रस्त हुँदा, समुदाय एकअर्काबाट अलग हुँदा तथा उद्धार र राहतमा समन्वय आवश्यक पर्दा सञ्चार सेवा अत्यावश्यक हुने उहाँको भनाइ थियो ।
उहाँले डिजिटल प्रविधिको विस्तारले ग्रामीण क्षेत्रका विद्यार्थीलाई विश्वभरको ज्ञानमा पहुँच, किसानलाई बजार तथा मौसमसम्बन्धी सूचना र साना उद्यमीलाई स्थानीय सीमाभन्दा बाहिरका बजारमा पहुँच बनाउन सहज भएको बताउनुभयो ।
सरकारले आगामी दिनमा डिजिटल पहुँचसँगै डिजिटल समावेशिता, साइबर सुरक्षा, सेवाको विश्वसनीयता तथा विपद् प्रतिरोधी सञ्चार प्रणालीको विकासमा विशेष ध्यान दिने मन्त्री तिमिल्सिनाले बताउनुभयो ।

