कांग्रेस महाधिवेशन : नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान
काठमाडौँ,असोज २२ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ। केन्द्रीय निर्वाचन समितिका अनुसार मतदान बिहान १० बजेदेखि सुरु हुनेछ।
यसअघि बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम तय गरिए पनि वर्षा र केही प्राविधिक कारणले समय परिवर्तन गरी बिहान १० बजेबाट मतदान गर्ने निर्णय गरिएको केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिनुभयो।
महाधिवेशनमा सहभागी सात हजार दुई सय ५५ प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन्। मतदानका लागि काठमाडौँका तीन स्थानमा सातवटा मतदान केन्द्रको व्यवस्था गरिएको छ। प्रतिनिधिको सहजताका लागि प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका अनुसार राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ भने खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ।
भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूले पनि खुलामञ्चमै मतदान गर्नेछन। सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ।
मतदानअघि प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्र प्रतिनिधिले मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।

