निजी सेवा प्रदायकले सस्ता प्याकेज बन्द गरे पनि टेलिकमले शुल्क नबढाउने



काठमाडौँ,असोज २२ । निजी इन्टरनेट सेवा प्रदायकले सुपथ मूल्यका प्याकेज बिक्री बन्द गर्ने निर्णय गरेपछि इन्टरनेट शुल्क महँगिने हो कि भन्ने बहस भइरहेका बेला नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले भने हाल सञ्चालनमा रहेका इन्टरनेट प्याकेजको शुल्क नबढाउने जनाएको छ।

इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालले इन्धनको मूल्यवृद्धि, फाइबरको मूल्य बढ्नु, मुद्रास्फीति तथा कृत्रिम बौद्धिकताको तीव्र विकाससँगै विद्युतीय चिपसेटको मूल्य बढेकाले सञ्चालन खर्च धान्न कठिन भएको भन्दै गत सोमबारदेखि सुपथ मूल्यका प्याकेज बिक्री गर्न नसक्ने जनाएको थियो। त्यसपछि निजी सेवा प्रदायकले सस्ता प्याकेजको बिक्री बन्द गर्ने घोषणा गरेका हुन्।

तर नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले टेलिकमले ग्राहकलाई उपलब्ध गराउँदै आएको प्याकेज निरन्तर सञ्चालन हुने र तत्काल मूल्य बढाउने कुनै सोच नरहेको बताउनुभएको छ। उहाँका अनुसार टेलिकमले उपलब्ध गराएका इन्टरनेट प्याकेज अन्य सेवा प्रदायकको तुलनामा समेत सर्वसुलभ छन्।

टेलिकमले घरायसी ग्राहकका लागि एक वर्षको ५० एमबिपिएस इन्टरनेट रु आठ हजार ४९९ मा उपलब्ध गराउँदै आएको छ। दुई वर्षको प्याकेज एकैपटक खरिद गर्दा रु १४ हजार ९९९ तिर्नुपर्ने व्यवस्था छ। वार्षिक शुल्क एकैपटक भुक्तानी गर्ने ग्राहकले दैनिक ६०० एमबी मोबाइल डाटा निःशुल्क पाउने कम्पनीले जनाएको छ।

त्यस्तै, ७५ एमबिपिएसको वार्षिक शुल्क रु १० हजार ४९९, १०० एमबिपिएसको रु ११ हजार ४९९, १५० एमबिपिएसको रु १२ हजार ९९९ र २०० एमबिपिएसको रु १६ हजार ४९९ तोकिएको छ। फाइबर इन्टरनेट प्याकेज खरिद गर्ने ग्राहकले मोबाइलमा दैनिक ६०० एमबीदेखि एक हजार एमबीसम्म डाटा निःशुल्क पाउने सुविधा पनि रहेको टेलिकमले जनाएको छ।

कम्पनीका अनुसार एक महिने र तीन महिने प्याकेजसमेत सञ्चालनमा छन्। गत साउन मसान्तसम्म टेलिकमको फाइबर इन्टरनेटका ग्राहक सङ्ख्या चार लाख दुई हजार ११० पुगेको छ।प्रवक्ता लामिछानेले ग्राहकले इन्टरनेट जडानका लागि कार्यालय धाउनुपर्ने अवस्था नरहेको बताउनुभयो। उहाँका अनुसार १९८ मा फोन गरेर जडानका लागि निवेदन दिन सकिन्छ। सार्वजनिक बिदा तथा चाडपर्वमा समेत सेवा चुस्त बनाउन काउन्टर खुला राखिएको उहाँले जानकारी दिनुभयो।

हाल टेलिकमको फाइबर सेवा ७७ जिल्लाका झण्डै ४०० पालिका तथा पालिका केन्द्रसम्म पुगेको छ। फाइबर नपुगेका दुर्गम तथा अतिदुर्गम क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ।

टेलिकमले एउटै फाइबरबाट उच्च गतिको इन्टरनेटसँगै टेलिभिजन, टेलिफोन र मोबाइल डाटा सुविधा उपलब्ध गराउँदै आएको छ। आवश्यकताअनुसार एउटै तारबाट चारवटा सेवा सञ्चालन गर्न सकिने भएकाले कम्पनीले यसलाई ‘थ्री प्लस वान’ नाम दिएको छ।

यसैबीच, टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको एनटी टिभी सेवामा स्मार्ट टिभी प्रयोगकर्ताले छुट्टै सेटटप बक्स आवश्यक नपर्ने सुविधा ल्याएको छ। असोज १५ देखि एन्ड्रोइड टिभीका लागि भर्चुअल सेटटप बक्स उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

ग्राहकले एन्ड्रोइडमा आधारित स्मार्ट टिभीमा गुगल प्ले स्टोरबाट ‘स्मार्ट एनटी टिभी’ खोजी गरी उक्त सुविधा प्रयोग गर्न सक्नेछन्। आगामी दिनमा सबै प्रकारका स्मार्ट टिभीमा प्रयोग गर्न मिल्ने भर्चुअल सेटटप बक्स सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रवक्ता लामिछानेले बताउनुभयो।

नयाँ प्याकेज खरिद गर्दा भर्चुअल सेटटप बक्ससहितको प्याकेज लिने ग्राहकलाई रु एक हजार छुट दिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्