बिर्तामोडमा भीषण आगलागी: करिब १० करोडको क्षति
भद्रपुर, असोज २२ | झापाको प्रमुख व्यापारिक सहर बिर्तामोडमा हिजाे बुधबार दिउँसो भीषण आगलागी भएको छ। आगलागीबाट करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
आगलागीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार बिर्तामोड नगरपालिका–४ भद्रपुर रोडस्थित अन्नपूर्ण चोकमा रहेको देवी सुब्बाको तीनतले पक्की घरको भुइँतलाबाट आगो सुरु भएको थियो। उक्त भुइँतलामा उहाँका भाइ हर्कजङ्ग सुब्बाले ‘देवी उड्न फर्निचर पसल’ सञ्चालन गर्दै आएका थिए।
उक्त घरबाट सल्किएको आगोले नजिकै जोडिएको कृष्णकुमारी राईको घरमा दिव्याश्री अग्रवालद्वारा सञ्चालित ‘जय ट्रेड फर्निचर फ्याक्ट्री एन्ड सोरुम’ समेत पूर्ण रूपमा जलेर नष्ट भएको छ। यस्तै, घरको पछाडिपट्टि रहेका अन्य दुईवटा घरमा आगोको रापले सामान्य क्षति पुर्याएको छ।
आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सक्रियताका साथै बिर्तामोड र भद्रपुर नगरपालिकाका दमकलको प्रयोग गरी नियन्त्रणमा लिइएको थियो।
आगलागीको प्रस्ट कारण खुल्न नसके पनि विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने आशङ्का गरिएको छ।

