सडक अवरुद्ध भएपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप



पोखरा,असोज २२ । पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध भएपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप बढेको छ। सडक मार्ग सञ्चालनमा नआएपछि अहिले पोखराबाट मुस्ताङ जाने यात्रुका लागि हवाई मार्ग मुख्य विकल्प बनेको छ।

जोमसोम विमानस्थलका प्रमुख विश्वनाथ शर्माका अनुसार यात्रुको चाप बढे पनि उडान सङ्ख्या सीमित हुँदा मागअनुसार सेवा दिन कठिन भइरहेको छ। तारा र समिट एयरका ट्विनअटर जहाजले पोखरा–जोमसोम उडान गर्दै आएका छन्।

दुवै वायुसेवा कम्पनीले सामान्य अवस्थामा दैनिक पाँच–पाँच उडान गर्दै आएकामा अहिले यात्रुको चाप बढेपछि सात–सात वटासम्म उडान गरिरहेका छन्। पर्यटकीय यामसमेत भएकाले मुस्ताङ जाने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढिरहेको शर्माले बताउनुभयो।

स्रोहश्राद्धका समयमा मुक्तिनाथ दर्शनसँगै कागबेनीमा पितृतर्पणका लागि नेपाल तथा भारतबाट हिन्दु धर्मावलम्बीसमेत ठूलो सङ्ख्यामा मुस्ताङ पुग्ने गर्छन्। वायुसेवा कम्पनीले बिरामी, अशक्त तथा विदेशी पर्यटकलाई उडानमा प्राथमिकता दिइरहेका छन्।

त्यस्ता यात्रुको सहज यात्राका लागि स्थानीय प्रशासन र विमानस्थल कार्यालयले समेत सहजीकरण गरिरहेको शर्माले बताउनुभयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार जोमसोममा दिउँसोको समयमा हावाहुरी बढी चल्ने भएकाले अधिकांश उडान बिहानै हुने गरेका छन्। मध्याह्न १२ बज्नुअघि नै अधिकांश उडान सम्पन्न गर्नुपर्ने भएकाले यात्रुको चापअनुसार दिनभर उडान थप्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो।

वर्षायामका कारण गत जेठ १८ गतेदेखि बन्द भएको पोखरा–जोमसोम हवाई सेवा भदौको पहिलो सातादेखि पुनः सञ्चालनमा आएको थियो। कम दृश्यता हुने भएकाले हरेक वर्ष वर्षायाममा यो हवाई सेवा प्रभावित हुँदै आएको छ।

असोज ८ देखि ११ गतेसम्म परेको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले बेनी–जोमसोम–कोरला सडकखण्डका विभिन्न स्थानमा क्षति पुर्‍याएपछि सडक यातायात अवरुद्ध भएको हो। कालीगण्डकी करिडोरअन्तर्गतको उक्त सडक बाह्र दिनदेखि अवरुद्ध रहेकाले पोखराबाट मुस्ताङ जाने यात्रुका लागि अहिले हवाई सेवा नै प्रमुख विकल्प बनेको छ।

सडक सञ्चालनमा आएपछि हवाई यात्रुको चाप घट्ने र पोखरा–जोमसोम हवाई सेवा पनि सहज हुने विमानस्थल प्रमुख शर्माले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्