त्रिविको शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्न मन्त्री पोखरेलको निर्देशन
काठमाडौं,असोज २२ । शिक्षा तथा खेलकुदमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेन्डर, सुशासन र प्रविधिको उच्चतम प्रयोग अनिवार्य रहेको बताउनुभएको छ।
कीर्तिपुरस्थित त्रिभुवन स्मृति भवनमा आयोजित त्रिभुवन विश्वविद्यालय सभाको ६७औँ वार्षिक दिवसको बैठकमा अध्यक्षता गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयलाई समयसापेक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले प्रवेश परीक्षा, विद्यार्थी भर्ना, पठनपाठन, आन्तरिक मूल्याङ्कन, अन्तिम परीक्षा, नतिजा प्रकाशन तथा शैक्षिक प्रमाणपत्र वितरणसम्मका सबै प्रक्रिया निर्धारित समयतालिकाअनुसार सञ्चालन गर्न विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिनुभयो। कुनै कारणले शैक्षिक क्यालेन्डर प्रभावित भए त्यसको स्पष्ट कारण र सुधारको समयसीमासमेत सार्वजनिक गर्नुपर्ने उहाँको भनाइ छ।
परीक्षा प्रणालीलाई सुधार गर्दै विद्यार्थीले परीक्षामा कति लेख्यो भन्नेभन्दा पनि उसले कति सिक्यो भन्ने कुरालाई महत्त्व दिनुपर्ने मन्त्री पोखरेलले बताउनुभयो। रटेर प्राप्त गरेको ज्ञानभन्दा समस्या समाधान गर्ने क्षमता, सिर्जनशीलता, अनुसन्धान क्षमता र व्यावहारिक दक्षता विकास गर्ने गरी अध्यापन तथा अनुसन्धानलाई अघि बढाउन उहाँले प्राध्यापकहरूलाई आग्रह गर्नुभयो।
नेपालका सामाजिक, आर्थिक, सांस्कृतिक, वातावरणीय तथा प्राविधिक समस्याको समाधान खोज्ने अनुसन्धानलाई विश्वविद्यालयले प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो। ज्ञान उत्पादन र त्यसको व्यावहारिक प्रयोगबीचको दूरी घटाउन सके विश्वविद्यालयको अनुसन्धानले राष्ट्रिय विकासमा प्रभावकारी योगदान पुर्याउने उहाँले उल्लेख गर्नुभयो।
विश्वविद्यालयका सम्पूर्ण सुधारको केन्द्रमा विद्यार्थी हुनुपर्ने स्पष्ट पार्दै मन्त्री पोखरेलले विद्यार्थीका गुनासा, आवश्यकता र आकाङ्क्षा सम्बोधन गर्ने प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने बताउनुभयो।कृत्रिम बुद्धिमत्तालगायत नयाँ प्रविधिलाई चुनौतीका रूपमा मात्र नहेरी ज्ञान र नवप्रवर्तनको अवसरका रूपमा उपयोग गर्नुपर्ने उहाँको भनाइ थियो। प्रविधिको जिम्मेवार र नैतिक प्रयोगका लागि आवश्यक नीति निर्माण तथा क्षमता विकासमा समेत उहाँले जोड दिनुभयो।

