एमाले वडा अधिवेशन मङ्सिर २६ र पालिका अधिवेशन पुस ४ गते
काठमाडौं,असोज २२ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय तहका वडा कमिटीको अधिवेशन आगामी मङ्सिर २६ गते र पालिका कमिटीको अधिवेशन पुस ४ गते गर्ने निर्णय गरेको छ ।पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटीको पहिलो बैठकले अधिवेशनको मिति तय गरेको हो ।
बैठकको प्रारम्भमा केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पार्टीको वरिष्ठ नेतामा मनोनीत हुनुभएकी विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभयो । बैठकले आगामी मङ्सिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसमेत गरेको एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार राष्ट्रिय भेलामा प्रदेश कमिटी र जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र विभिन्न तहका जनप्रतिनिधि सहभागी हुनेछन् । वडा र पालिका अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यसैगरी, मधेस प्रदेशसभामा समानुपातिकतर्फ रौतहटबाट प्रतिनिधित्व गर्नुभएकी जैनब खातुनको निधनपछि रिक्त स्थानमा समानुपातिक सूचीकी उम्मेदवार नाजमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय बैठकले गरेको छ ।
बैठकले पार्टीका १३ जिल्लामा रिक्त जिल्ला अध्यक्षको पद जिल्ला तहकै निर्णयबाट पूर्ति गर्ने र सम्बन्धित सङ्गठन कमिटीमा रूपान्तरण गरी अनुमोदनका लागि माथिल्लो कमिटीमा पठाउने निर्णय पनि गरेको छ ।
एमाले स्थायी कमिटीको बैठक शुक्रबार पुनः बस्नेछ ।

