भोटेकोशी बाढीको ४४ दिनपछि पैरेबेँसी–शान्तिबजार जोड्ने तुइन सञ्चालनमा



रसुवा,असोज २२ । भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल अवरुद्ध भएको ४४ दिनपछि उत्तरगया गाउँपालिकाका स्थानीयवासीको आवतजावत सहज बनाउन पैरेबेँसीबाट नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित शान्तिबजार जोड्ने तुइन सञ्चालनमा ल्याइएको छ।

बाढीले आवागमन ठप्प बनाएपछि उत्तरगया गाउँपालिका–१, २ र ३ का बासिन्दा लामो समयदेखि यातायातको पहुँचबाट वञ्चित भएका थिए। तुइन सञ्चालनमा आएसँगै स्थानीयवासीको दैनिक आवतजावत तथा खाद्यान्न ढुवानीमा केही सहजता हुने अपेक्षा गरिएको छ।

स्थानीय समाजसेवी दिलकृष्ण श्रेष्ठका अनुसार यात्रुको सुरक्षा र संवेदनशीलतालाई ध्यानमा राख्दै तुइनबाट एक पटकमा एक जनालाई मात्र आवतजावत गर्न दिने व्यवस्था गरिएको छ।

तुइनलाई दुवैतर्फबाट सुरक्षित रूपमा तान्न तथा यात्रुलाई सहयोग गर्न नेपाल रेडक्रस सोसाइटीका कर्मचारी र स्वयंसेवकसमेत परिचालन गरिएको श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार दुवैतर्फ दुई–दुई जना कर्मचारी तथा स्वयंसेवकको व्यवस्था गरिएको छ।

सडक सञ्जाल पुनर्निर्माण नहुँदासम्मका लागि सञ्चालनमा ल्याइएको तुइनले बाढी प्रभावित स्थानीयवासीलाई आवतजावत र दैनिक उपभोग्य सामग्री ओसारपसारमा ठूलो राहत पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्