१८ दिनदेखि अवरुद्ध छहरे–घलेभञ्ज्याङ सडक खुलाउने सहमति, दुई दिनभित्र सञ्चालनमा ल्याउने तयारी



नुवाकोट,असोज २२ । पहिरोका कारण १८ दिनदेखि अवरुद्ध छहरे–घलेभञ्ज्याङ सडक खुलाउने सहमति भएको छ। नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ स्थित ठाँटीभञ्ज्याङमा अवरुद्ध सडक दुई दिनभित्र सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको हो।

गत असोज ५ गते गएको पहिरोले सडक अवरुद्ध भएपछि स्थानीयवासीको आवागमनमा समस्या हुँदै आएको थियो। सडक खुलाउन पहिरोले क्षति पुर्‍याएको पुरुषोत्तम पण्डितको बारीमा खसेको पहिरो हटाउने र पहिरो गएको स्थान हुँदै बैकल्पिक मार्ग निर्माण गरी सडक सञ्चालनमा ल्याउने सहमति भएको छ।

पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष बिमला केसी, वडा नम्बर २ का अध्यक्ष रामशरण श्रेष्ठ, वडा सचिव विष्णुमणि घिमिरे, जग्गाधनी पुरुषोत्तम पण्डित र पुण्डरी पण्डितसहित स्थानीय भद्रभलादमी, राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला तथा गाउँपालिकाका प्राविधिक कर्मचारीबीच भएको छलफलले सडक तत्काल खुलाउने निर्णय गरेको हो।

सडक सञ्चालनका लागि आवश्यक काम अघि बढाइएको र अबको दुई दिनभित्र सडक खुलाउने लक्ष्य राखिएको वडा नम्बर २ का अध्यक्ष रामशरण श्रेष्ठले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्