बुढानीलकण्ठबाट २० किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ



काठमाडौँ,असोज २२ — प्रहरीले काठमाडौँको बुढानीलकण्ठबाट करिब २० किलो सुनसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार बुढानीलकण्ठ क्षेत्रमा सञ्चालन गरेको कारबाहीका क्रममा उनीहरूलाई सुनसहित पक्राउ गरेको प्रहरी उच्च स्रोतले जनाएको छ।

प्रहरीका अनुसार बरामद सुनको परिमाण करिब २० किलो रहेको छ। पक्राउ परेका तीनै जना चिनियाँ नागरिक भए पनि उनीहरूको नाम तथा अन्य विवरण भने सार्वजनिक गरिएको छैन।

बरामद सुन कहाँबाट ल्याइएको थियो, त्यसको स्वामित्व कसको थियो र कारोबारमा अन्य व्यक्ति वा समूहको संलग्नता छ कि छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानमा सुनको स्रोत, नेपालमा भित्र्याइएको तरिका तथा कारोबारमा संलग्न हुन सक्ने अन्य व्यक्तिबारे अनुसन्धान केन्द्रित गरिएको छ।

घटनाबारे प्रहरी प्रधान कार्यालयले समेत पुष्टि गरेको छ। बरामद सुन र पक्राउ परेका व्यक्तिको विवरणसहित घटनासँग सम्बन्धित थप तथ्य सार्वजनिक गर्न प्रहरीले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गर्ने जनाएको छ।

प्रहरीले सुनको अवैध कारोबार भएको हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाएको छ। यद्यपि, घटनाको वास्तविक प्रकृति र यसमा संलग्न व्यक्तिबारे विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्