पोखरामा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु



पोखरा,असोज २३ । पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ।

मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका–६ फलामखानीका २९ वर्षीय विक्रम सुनार र गोरखाको पालुङटार नगरपालिका–७ का ३७ वर्षीय राजु कुमाल रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले घटनामा दुवै जनाको मृत्यु भएको जानकारी दिनुभयो।

प्रहरीका अनुसार बिहीबार दिउँसो घरको जग खन्ने क्रममा करिब सात फिट गहिरो खाल्डोमा काम गरिरहेका बेला माथिबाट माटोको ढिस्को खसेर उनीहरू पुरिएका थिए। घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त टोली उद्धारमा खटिएको थियो।

उद्धार टोलीले माटो पन्छाएर दुवै जनालाई बाहिर निकाली उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्‍याएको थियो।सुनारलाई अपराह्न ४ः३५ बजे उद्धार गरी अस्पताल लगिएकामा चिकित्सकले साँझ ५ बजे मृत घोषणा गरेका थिए। त्यस्तै, कुमाललाई साँझ ६ बजे उद्धार गरिएकामा ६ः२६ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक रिजालले बताउनुभयो।

प्रहरीका अनुसार घटनालगत्तै प्रहरी निरीक्षक रिजालको कमान्डमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट १० जना, प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमान्डमा वडा प्रहरी कार्यालय बगरबाट सात जना तथा सशस्त्र प्रहरी सहायक निरीक्षक सुजतकुमार यादवको कमान्डमा सशस्त्र प्रहरी बल नेपाल नं. २४ हेडक्वार्टर कालिका गण पोखराबाट १३ जना गरी ३० जनाको टोली उद्धारमा परिचालन गरिएको थियो।

स्थानीयवासीले अवैज्ञानिक तरिकाले गरिने जग्गा प्लटिङका कारण यस्ता घटना हुने गरेको भन्दै निर्माण कार्यका क्रममा आवश्यक सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्