चक्कु प्रहारबाट एक युवकको मृत्यु, एक जना गम्भीर घाइते



जनकपुरधाम,असोज २३ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–५ रहिम पथनजिक पुरानो रिसइबीका कारण चक्कु प्रहार हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–५ सोनारपट्टी दाहा चोकका २४ वर्षीय आमिन साफी रहेका छन्। सोही स्थानका २५ वर्षीय इम्तियाज राईन गम्भीर घाइते भएका छन्। दुवै जनाको छाती तथा पेटमा धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका २२ वर्षीय मोहमद इलसाद खानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साथै, थप अनुसन्धानका लागि उनकी ४२ वर्षीया आमा सैमुन खातुनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

गम्भीर घाइते राईनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। घटनाको कारण पुरानो रिसइबी रहेको प्रारम्भिक विवरणमा उल्लेख छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्