कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान आज बिहान ७ बजेदेखि



काठमाडौँ, असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज शुक्रबार बिहान ७ बजेदेखि मतदान हुने भएको छ। खराब मौसम, प्राविधिक समस्या र मतपत्र छपाइमा भएको ढिलाइका कारण मतदानको समय सारिएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले उम्मेदवार र मतदाता धेरै भएकाले मतपत्र छपाइमा ढिलाइ भएको जानकारी दिनुभयो। उहाँका अनुसार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले पनि साँझ मतदान सुरु गर्दा मतदातालाई रातिसम्म कठिनाइ हुने भएकाले बिहानदेखि मतदान गर्ने व्यवस्था मिलाइएको बताउनुभयो। उहाँका अनुसार मतपत्रमा हस्ताक्षर गर्न ३२ जना वरिष्ठ अधिवक्ता खटिएका छन्।

महाधिवेशन प्रतिनिधिको सहजताका लागि निर्वाचन समितिले विभिन्न मतदान केन्द्र तोकेको छ। राष्ट्रिय सभा गृहको मतदान केन्द्र ‘क’ मा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। खुलामञ्चको मतदान केन्द्र ‘ख’ मा कोशी प्रदेश तथा तराई–मधेस समूहका प्रतिनिधिका लागि व्यवस्था गरिएको छ। त्यसैगरी हिमाल हलमा गण्डकी प्रदेश, तराई–मधेस हलमा मधेस प्रदेश तथा पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसहित नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिले मतदान गर्नेछन्।

मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्रै मतदान गर्न पाइने निर्वाचन समितिले जनाएको छ। निर्वाचन आचारसंहिताले निषेध गरेका मोबाइल फोनलगायत सामग्री लिएर मतदानस्थलमा प्रवेश गर्न नपाइने व्यवस्था पनि गरिएको छ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ। निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ। मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य चयन हुनेछन्।

मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ। मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिनेछ।

महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिहरूको शुक्रबारको होटल बसाइ र खानाको खर्च पार्टीले नै बेहोर्ने भएको छ। आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइ तथा खानाको खर्च पार्टीले व्यहोर्ने जानकारी दिनुभयो।

महाधिवेशनले विधान संशोधन गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ। नयाँ संरचनाअनुसार निर्वाचित हुने पदाधिकारी तथा केन्द्रीय सदस्यले आगामी कार्यकालका लागि पार्टीको नेतृत्व सम्हाल्नेछन्। मतदान र मतगणना सम्पन्न भएपछि कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ।

प्रतिक्रिया दिनुहोस्