श्रीमान्को कुटपिटपछि श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ
बारा,असोज २३ । बाराको निजगढ नगरपालिका–१२ रामथलीमा घरायसी विवादका क्रममा श्रीमान्ले कुटपिट गरेकी श्रीमतीको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले श्रीमान् ५५ वर्षीय विजय मोक्तानलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार विजयले घरायसी विवादका क्रममा आफ्नी ४७ वर्षीया श्रीमती सुकुमाया मोक्तानलाई लहराको टुक्राले कुटपिट गरेका थिए। कुटपिटबाट सामान्य घाइते भएकी सुकुमायाको स्थानीय मेडिकलबाट चिकित्सकलाई घरमै बोलाएर जाँच तथा औषधोपचार गराइएको थियो।
सोही दिन राति ८ बजे खाना खाएर सुतेकी सुकुमायालाई भोलिपल्ट बिहान ४ बजे श्रीमान् विजयले उठाउन खोज्दा नउठेपछि मृत्यु भएको थाहा भएको थियो। त्यसपछि बिहान ६ः४० बजे अस्थायी प्रहरी पोष्ट रतनपुरमा घटनाबारे जानकारी गराइएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षकको कमान्डमा तथा इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी सुकुमायाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बारा पठाएको छ। घटनामा संलग्न विजयलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

