बाढीपहिरोले अवरुद्ध अधिकांश राजमार्ग सञ्चालनमा, वेत्रावतीमा बेलिब्रिज जडान हुँदै
काठमाडौँ, असोज २३ । भोटेकोशी–त्रिशूली हिमबाढी र असोज दोस्रो साताको अविरल वर्षाका कारण क्षतिग्रस्त अधिकांश राजमार्ग तथा सडक पुनः सञ्चालनमा आएका छन्। दसैँलगायतका ठूला चाडपर्वलाई लक्षित गर्दै सरकारले मर्मत कार्य तीव्र बनाएपछि अवरुद्ध सडकमा यातायात सञ्चालन हुन थालेको हो।
असोज ८ देखि ११ गतेसम्मको वर्षाले देशका विभिन्न स्थानमा थप क्षति पुर्याएको थियो। बाढी, पहिरो र सडक कटानका कारण सडक सञ्जाल अवरुद्ध हुँदा आवतजावत तथा खाद्यान्न ढुवानीमा समेत असर परेको थियो। सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार भदौ र असोजको बाढीपहिरोबाट क्षतिग्रस्त अधिकांश सडकमा यातायात सञ्चालन भइसकेको छ भने बाँकी सडक खुलाउन तीव्र गतिमा काम भइरहेको छ।
प्रवक्ता न्यौपानेका अनुसार पृथ्वी राजमार्ग, बिपी राजमार्ग, कान्ति राजपथ, अरनिको राजमार्ग र त्रिभुवन राजपथ पुनः सञ्चालनमा आएका छन्। भोटेकोशी–त्रिशूली हिमबाढीका कारण अवरुद्ध गल्छी–वेत्रावती सडकखण्डमा पनि यातायात सञ्चालन गरिएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाएर यातायात पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ।
भदौ १० गते आएको लेदोसहितको हिमबाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत जिल्लाका सडक तथा पुलमा ठूलो क्षति पुर्याएको थियो। भोटेकोशी–त्रिशूली करिडोरका मुख्य सडक तथा पुल बगाउँदा रसुवा सडक सञ्जालबाट विच्छेद भएको थियो। त्यसपछि वैकल्पिक मार्गका रूपमा काठमाडौँ–टोखा–छहरे–गड्खार पुल–आप्प्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडक मर्मत गरी चारपाङ्ग्रे साना सवारीसाधनका लागि खुला गरिएको छ।
हिमबाढीले बगाएको गल्छी–वेत्रावती सडकखण्डमा नयाँ ट्र्याक खोलेर रसुवालाई पुनः सडक सञ्जालसँग जोडिएको छ। अहिले वेत्रावती बजार क्षेत्रमा बेलिब्रिज जडान भइरहेको छ। पुल जडान भएपछि धुन्चेसम्म यातायात सञ्चालन सहज हुने सडक विभागले जनाएको छ। यद्यपि स्याफ्रुबेँसीदेखि रसुवागढी नाकासम्मको सडक सञ्चालनमा ल्याउन बाँकी छ।
असोज दोस्रो साताको रोशी खोलाको बाढीले क्षति पुर्याएको बिपी राजमार्गका चौकीडाँडा, कटुन्जे, पिप्ले र माम्ती लगायतका स्थानमा अस्थायी डाइभर्सन तथा वैकल्पिक ट्र्याक निर्माण गरी यातायात सञ्चालन गरिएको छ। तर सुरक्षाका कारण साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ।
कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासीपूर्वको बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरो क्षेत्र र बागलुङको बेलबगरमा सडक खुलाएर एकतर्फी यातायात सञ्चालन गरिएको छ। असोज १८ गतेको बाढीपहिरोले अवरुद्ध बनाएको मनाङको बेँसीसहर–खाङ्सार सडकखण्ड पनि मर्मतपछि एकतर्फी सञ्चालनमा आएको छ। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिर, गजुरी र परेवाभिरमा खसेका पहिरो हटाएर यातायात सञ्चालन गरिएको छ।
सडक विभागका अनुसार बाढीपहिरोले अवरुद्ध बनाएको कालीगण्डकी करिडोरको मालढुङ्गादेखि जोमसोमसम्मको सडक आइतबारदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ। सडक डिभिजन कार्यालय र सुरक्षा निकायका टोली भारी उपकरणसहित अवरुद्ध सडक खुलाउन खटिएका छन्। सरकारले दसैँअघि नै सबै सडकमा यातायात सञ्चालन गराउने लक्ष्य राखेको प्रवक्ता न्यौपानेले बताउनुभयो।
पासाङ ल्हामु राजमार्गको रसुवा–धुन्चे खण्डमा मर्मत कार्य जारी रहेको र आगामी चारदेखि पाँच दिनभित्र धुन्चेसम्म पूर्ण रूपमा यातायात सञ्चालन गर्ने तयारी भइरहेको विभागले जनाएको छ। त्यसैगरी, म्याग्दीको बैसरी क्षेत्रमा क्षतिग्रस्त बेनी–जोमसोम सडकखण्ड अझै अवरुद्ध छ। मुस्ताङतर्फको सडक खुलाउन प्रयास भइरहेको छ। नवलपरासीपूर्वको कालीगण्डकी करिडोर भने एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
बाढीपहिरो प्रभावित रसुवासहित नुवाकोट, धादिङ, चितवन र गोरखाका ग्रामीण सडकमा समेत प्राविधिक टोली तथा भारी उपकरण परिचालन गरिएको छ। सडक विभागले सडक पूर्ण रूपमा पुरानै अवस्थामा फर्कन केही समय लागे पनि यात्रु आवागमन र खाद्यान्न ढुवानी पूर्ण रूपमा ठप्प हुने अवस्था नरहेको जनाएको छ।
यद्यपि हिमाली तथा पहाडी क्षेत्रमा सुक्खा पहिरो खस्ने जोखिम र नदीको बहाव पूर्ण रूपमा नघटेकाले सडक सञ्चालनमा चुनौती कायम रहेको विभागले जनाएको छ। स्थानीय प्रशासनले पहिरोग्रस्त तथा हिलाम्मे सडकमा यात्रा गर्दा सतर्कता अपनाउन र चालकलाई सुरक्षित रूपमा सवारी चलाउन आग्रह गरेको छ।

