बेलायतमा नेपाली सेनाले जित्यो स्वर्ण पदक
काठमाडौँ,असोज २३ । नेपाली सेनाले बेलायतमा आयोजित अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२६’ मा स्वर्ण पदक प्राप्त गरेको छ।
बेलायतको वेल्सस्थित ब्रेकनमा असोज २१ देखि २२ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाली सेनाको टोलीले स्वर्ण पदक जितेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा प्रतियोगिताको पदक वितरण गरिएको थियो।
प्रतियोगितामा बेलायतसहित ३५ राष्ट्रका १३० टोली सहभागी भएका थिए। सन् १९६० देखि प्रत्येक वर्ष आयोजना हुँदै आएको यस सैनिक अभ्यासमा नेपाली सेना सन् २०१४ देखि सहभागी हुँदै आएको छ।
प्रतियोगितामा सहभागी टोलीले करिब ७० पाउन्ड तौल बराबरका उपकरण बोकेर दुई दिनभित्र ४० माइल दूरी पार गर्नुपर्ने हुन्छ। यस क्रममा हतियार सञ्चालन, सूचना सङ्कलन तथा घाइते र बिरामीको व्यवस्थापनलगायत विभिन्न सैनिक सीपको परीक्षण गरिन्छ।
नेपाली सेनाले यसअघि पनि सन् २०१७, २०१९, २०२४ र २०२५ मा यस प्रतियोगितामा स्वर्ण पदक जितिसकेको छ। पछिल्लो सफलतासँगै नेपाली सेनाले अन्तर्राष्ट्रिय सैनिक अभ्यासमा आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ।

