मालढुङ्गा पुलको पहुँचमार्ग बाढीले बगाउँदा बागलुङको पर्यटन र व्यापार प्रभावित
बागलुङ,असोज २३ । मुख्य सडक सम्पर्कविच्छेद हुँदा बागलुङको पर्यटन, व्यापार व्यवसाय र दैनिक जनजीवन प्रभावित भएको छ । असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाएपछि १२ दिनदेखि बागलुङ र पर्वतबीचको नियमित सडक सम्पर्क अवरुद्ध भएको हो ।
दसैँको समयमा कालिका मन्दिर, पञ्चकोट हुँदै ढोरपाटनसम्म घुम्न आउने पर्यटकले बागलुङका होटल भरिभराउ हुने गरे पनि यस वर्ष अपेक्षित चहलपहल देखिएको छैन । मुख्य सडक अवरुद्ध भएपछि पर्यटकको आवागमन घट्दा होटल व्यवसायी निराश बनेका छन् ।
होटल व्यवसायी एन्जील शाक्यका अनुसार मुस्ताङ जाने मुख्य सडक अवरुद्ध हुँदा बागलुङको पर्यटन व्यवसायमा समेत प्रत्यक्ष असर परेको छ । चाडपर्वका बेला होटलमा पर्यटकको चाप बढ्नुपर्ने भए पनि अहिले व्यवसाय सुनसान रहेको उहाँले बताउनुभयो । वैकल्पिक मार्गबाट पर्यटकको आवागमन कम भएकाले पुल सञ्चालनमा आउन ढिलाइ हुँदा व्यवसायीको नोक्सानी बढ्ने उहाँको भनाइ छ ।
भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोर तथा मध्यपहाडी लोकमार्गको महत्त्वपूर्ण सङ्गमस्थल मालढुङ्गामा सडक अवरुद्ध हुँदा बागलुङसँगै पश्चिम क्षेत्रको आवागमनसमेत प्रभावित भएको छ । यही मार्ग हुँदै म्याग्दी र मुस्ताङ जाने पर्यटक तथा पूर्वी रुकुम र रोल्पातर्फ आवतजावत गर्ने यात्रुले समेत सास्ती भोग्नुपरेको छ ।
मुख्य सडक अवरुद्ध भएपछि फलेवास–बलेवा हुँदै बागलुङ तथा मालढुङ्गा–बेनी हुँदै बागलुङसम्म वैकल्पिक मार्गबाट यात्रुवाहक बस र साना मालवाहक सवारी सञ्चालन भइरहेका छन् । लामो र घुमाउरो बाटो प्रयोग गर्नुपर्दा ढुवानी खर्च बढेको व्यवसायीले बताएका छन् । यसको असर दैनिक उपभोग्य वस्तुको मूल्य र आपूर्तिमा समेत देखिन थालेको छ ।
ग्यास विक्रेता हरि आचार्यका अनुसार वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्दा प्रतिसिलिन्डर १५० देखि १७० रुपैयाँसम्म अतिरिक्त खर्च लाग्ने गरेको छ । ढुवानी खर्च बढेपछि बजारमा ग्यासको मूल्यसमेत १०० रुपैयाँले बढाउनुपरेको उहाँले बताउनुभयो । सडक अवरुद्ध हुँदा तरकारीलगायत खाद्यवस्तुको आपूर्तिमा समस्या देखिन थालेको छ भने पेट्रोलियम पदार्थ, खाद्यान्न, लत्ताकपडा तथा अन्य उपभोग्य वस्तुको नियमित आपूर्ति प्रभावित भएको छ ।
सडक अवरोधले सर्वसाधारणको दैनिक जीवनसँगै स्वास्थ्य सेवामा पनि असर पारेको छ । गम्भीर बिरामी तथा नियमित उपचारका लागि पोखरा जानुपर्ने नागरिकले लामो वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने वा केही दूरी पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ ।
यसैबीच, सडक डिभिजन कार्यालय पोखराले दसैँअघि नै मालढुङ्गा पुलको पहुँचमार्ग सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको छ । बाढीले पहुँचमार्गको करिब ३० मिटर सडकमा क्षति पुर्याएपछि मर्मत तथा पुनःस्थापनाको काम भइरहेको छ ।
सडक डिभिजन कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले चाडपर्व नजिकिँदै गएको र खाद्यान्न, ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्तिमा असर पर्न थालेकाले चौबीसै घण्टा काम गरेर पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो ।
कुल ११४ मिटर लामो मालढुङ्गा पुलको पहुँचमार्ग क्षतिग्रस्त भएपछि दुई जिल्लाबीचको नियमित सडक सम्पर्क विच्छेद भएको हो । पुल सञ्चालनमा आएपछि लामो समयदेखि प्रभावित पर्यटन, व्यापार तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति क्रमशः सहज हुने अपेक्षा गरिएको छ ।

