परम्परागत डोको बुन्ने सीप जोगाउँदै भोजपुरका किसान विष्ट



भोजपुर,असोज २३। भोजपुर नगरपालिका–५ का किसान कृतिमान विष्ट परम्परागत डोको बुन्ने सीपको संरक्षणमा जुट्नुभएको छ । खेतीपातीको कामबाट बचेको समय सदुपयोग गर्दै उहाँले पुस्तौँदेखि चल्दै आएको बाँसको चोयाबाट डोको बुन्ने पेसालाई निरन्तरता दिँदै आउनुभएको छ ।

आधुनिक सामग्रीको प्रयोग बढ्दै जाँदा गाउँघरमा समेत डोकोको प्रयोग घट्दै गएको छ । तर कृषि तथा घरायसी काममा यसको आवश्यकता अझै रहेकाले विष्टले स्थानीयस्तरमै पाइने बाँसको प्रयोग गरी विभिन्न आकारका डोको बुन्दै आउनुभएको छ ।

बाँसबाट चोया तयार गर्ने, त्यसलाई आवश्यक आकारमा मिलाउने र हातैले बुनेर डोको बनाउने उहाँको नियमित काम हो । विष्टका अनुसार आकारअनुसार एउटा डोको ३०० देखि ७०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । ठूलो आकारको डोको तयार गर्न पाँचदेखि छ घण्टासम्म लाग्ने उहाँले बताउनुभयो ।

“आफ्नै गाउँमा पाइने बाँसबाट चोया तयार गरेर डोको बुनिन्छ । फुर्सदको समयमा बुन्दा सीप पनि जोगिन्छ भने केही आम्दानी हुन्छ”, विष्टले भन्नुभयो ।

ग्रामीण जीवनमा डोको, नाङ्लो र डालोजस्ता सामग्रीको महत्त्व अझै कायम छ । खेतबारीबाट उत्पादित मकै, धान, कोदो र आलुलगायतका कृषि उपज ओसारपसार गर्न तथा घाँस, दाउरा र घरायसी सामान बोक्न डोको प्रयोग हुँदै आएको छ । स्थानीय बाँसबाट तयार गरिने यस्ता सामग्री वातावरणमैत्री हुनुका साथै स्थानीय स्रोतसाधनको उपयोगको उदाहरण पनि बनेका छन् ।

पछिल्लो समय नयाँ पुस्तामा परम्परागत सीप हस्तान्तरण हुन नसक्दा डोको बुन्ने कला लोप हुने जोखिम बढेको विष्टको भनाइ छ । आफूले जानेको सीपलाई निरन्तरता दिनुका साथै नयाँ पुस्तालाई पनि सिकाउन सके यसलाई संरक्षण गर्न र आम्दानीको स्रोतका रूपमा विकास गर्न सकिने उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्