वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने युवक पक्राउ



काठमाडौँ,असोज २३ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको तिलहरी लुटेर फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका घर भई हाल गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बस्दै आएका २९ वर्षीय सुनिल सुनार रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सुनारले आफ्नै घरअगाडि उभिरहेकी वृद्ध महिलाले घाँटीमा लगाएको सुनको तिलहरी लुटेर फरार भएका थिए। लुटिएको तिलहरी करिब चार आना तौलको रहेको र त्यसको मूल्य ७५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

घटनापछि खोजतलासमा खटिएको प्रहरी वृत्त बौद्धको टोलीले सुनारलाई लुटिएको तिलहरीसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो।

पक्राउ परेका सुनारविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्