संवेदनशील सूचना चुहाएको आरोपमा एआइजी वंशीराज दाहाल बर्खास्त
काठमाडौं,असोज २३ । राज्यका संवेदनशील सूचना अनधिकृत व्यक्तिमार्फत बाहिर पुर्याएको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई सरकारले बर्खास्त गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले दाहाललाई बर्खास्त गर्ने निर्णय भएको जानकारी दिनुभयो।
दाहालमाथि संवेदनशील सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरीका एआइजी अञ्जनीकुमार पोखरेलको संयोजकत्वमा छानबिन गरिएको थियो। छानबिन समितिले बिहीबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाउँदै दाहालले पदीय आचरणविपरीत गतिविधि गरेको निष्कर्ष निकालेको थियो। समितिले उनलाई बर्खास्त गर्नेसम्मको विभागीय कारबाही गर्न सिफारिस गरेको थियो।
संवेदनशील सूचना बाहिर पुर्याएको र पदीय आचरणविपरीत काम गरेको आरोपमा गृह मन्त्रालयले दाहाललाई यसअघि निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाएको थियो।
सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ११३ मा सेवाबाट हटाउने तथा बर्खास्त गर्नेसम्मको विभागीय सजायको व्यवस्था छ। नियम ११५ अनुसार एआइजीलाई विभागीय सजाय दिने अधिकार गृहमन्त्रीलाई रहेको छ। उक्त निर्णयविरुद्ध नेपाल सरकार, मन्त्रिपरिषद्मा पुनरावेदन गर्न सकिने व्यवस्था पनि छ।
दाहालको चारवर्षे पदावधि आगामी असोज २८ गते पूरा हुँदै थियो। सशस्त्र प्रहरी मुख्यालयले उहाँको पदावधि एक वर्ष थप गर्न सिफारिस गरेको भए पनि बर्खास्तीको निर्णयसँगै पदावधि थपिने सम्भावना समाप्त भएको छ।

