बसको ठक्करबाट कृषि मन्त्रालयका वरिष्ठ लेखा अधिकृतको मृत्यु
दाङ,असोज २३। दाङको लमही नगरपालिका–१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा कार्यरत वरिष्ठ लेखा अधिकृत ५० वर्षीय चेतबहादुर केसी रहेका छन्। उनी घोराही उपमहानगरपालिका–१७ चौघेराका निवासी हुन्।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१४८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लुम्बिनी प्रदेश ०३–००१ प ८५९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट मोटरसाइकल चालक केसीको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि लमही अस्पताल पुर्याइएकोमा साँझ साढे ६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

